चितवन । सेन्ट्रल कलेज प्रथम भरतपुर–१८ गोल्डकप फुटबलमा माडी–२ विजयी भएको छ । खेलकुद बिकास समन्वय समिति भरतपुर–१८, गुञ्जनगरको आयोजनामा जारी गोल्डकपमा भरतपुर–२९ र माडी नगरपालिका भिडेका थिए । खेलमा माडी–२ ले भरतपुर–२९ लाई ३–१ ले हराएको हो ।
माडी–२ को जितमा दिनेशले पहिलो हाफको १०औँ र दोस्रो हाफको ९औँ मिनेटमा गोल गरे । सन्देश महतोले दोस्रो हाफको १८औँ मिनेटमा माडीका लागि तेस्रो गोल गरे । भरतपुर–२९ का कश्मिर गुरूङले दोस्रो हाफमा नै एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् । माडीका कप्तान दिनेश म्यान अफ दी म्याच भए । यो जितसँगै माडी–२ प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलमा बुधबार न्यू दिव्यज्योति र सेन्ट्रल कलेज २८ बिघा भिडेका थिए ।
माडी–२ ले अब क्वाटरफाइनलमा सूर्यपुर एफसीको सामना गर्नेछ । सूर्यपुर एफसी बाई पाउँँदै सीधै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । रामपुर फुटबल क्लब रड्सलाई पराजित गर्दै हर्दी युवा समाज भण्डारा सेन्ट्रल कलेज प्रथम भरतपुर–१८ गोल्डकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ ।
यसअघि रड्स एफसीविरूद्ध कठिन जित निकाल्दै हर्दीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा हर्दी १–० ले विजयी भयो । उसको जितमा निश्चल बस्नेतले एकमात्र निर्णायक गोल गरे । पहिलो हाफमा उनले फ्री किकमा सुन्दर गोल गरे । पहिलो हाफमा नै रड्सले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन । प्राप्त अवसरमा रड्सका चित्रबहादुर कुमाल गोल गर्न चुके । उनको प्रहार बाहिरियो । दोस्रो हाफमा लयमा फर्किए पनि रड्सले गोल गर्न सकेन । हर्दीका अन्जन चौधरी म्यान अफ दी म्याच भए ।
हर्दीले अब क्वाटरफाइनलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी)को सामना गर्नेछ । बिएफसी बाइ पाउँँदै सीधै क्वाटरफाइनमा प्रवेश गरिसकेको छ भने श्री नयाँ सबुज गण भरतपुरविरूद्ध ३–० को जित निकाल्दै भरतपुर–१८ ले क्वाटरफाइनलको यात्रा तय गरेको हो । भरतपुर–१८ को जितमा सुधीर पासवान, सुरेश बानियाँ र वसन्त कुमालले गोल गरे । पहिलो हाफको १९औँ मिनेटमा सुधीरको पेनाल्टी गोलमा भरतपुर–१८ ले अग्रता लियो ।
दोसो हाफमा भरतपुर–१८ ले २ गोल थप्यो । अतिरिक्त समयको पहिलो मिनेटमा सुरेश र पाचौँ मिनेटमा वसन्तले गोल गरेपछि भरतपुर–१८ ले ३–० को सहज जित निकाल्यो । वसन्त म्यान अफ दी म्याच भए । भरतपुर–१८ अब क्वाटरफाइनलमा अभिषेक चर्च रजहरको सामना गर्नेछ । अभिषेक चर्च बाइ पाउँँदै सीधै क्वाटरफाइनमा प्रवेश गरिसकेको छ ।
वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख २२ हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ रूपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्ताले जनही पाँच–पाँच हजार तथा म्यान अफ दी म्याचले दुई हजार रूपैयाँ प्राप्त गर्नेछन् ।