लन्डन (बेलायत) । बेलायती फर्मा कम्पनी अस्त्रजेनेकाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पास्कल सोरिएट सबैभन्दा धेरै तलब थाप्ने सीईओ बनेका छन् ।
सन् २०२० मा उनले १ करोड ५४ लाख ५० हजार पाउन्ड (२ करोड १२ लाख ५० हजार डलर) तलबसुविधा बुझेको हाइ पे सेन्टरको एक प्रतिवेदनले देखाएको छ । यो फुट्सी १०० मा रहेका कम्पनीका सीईओहरुले थापेको औसत तलबको तुलनामा निकै धेरै हो ।
गत वर्ष फुट्सी १०० मा रहेका कम्पनीका सीईओहरुको औसत तलब सुविधा २६ लाख ९० हजार रहेको छ । सन् २०१९ को तुलनामा यो निकै कम हो । सो अवधिमा उनीहरुले ३२ लाख ५० हजार तलब सुविधा लिएका थिए ।
यद्यपि यो औसत बेलायतीहरुको गत वर्षको कमाईभन्दा चाहीं ८६ गुणा धेरै हो । कोरोना भाइरसको महामारीका कारण सबै क्षेत्रको अधिकांश व्यवसायहरु प्रभावित भएका छन् ।
यस्तोमा सीईओहरुले पनि व्यवसायको वित्तीय पीडा बाँड्नु पर्ने माग शेयरधनीहरुले गरिरहेका छन् । समीक्षा अवधिमा बोनस भुक्तानी गर्ने र प्रदर्शनका आधारमा दीर्घकालीन प्रोत्साहनमा पनि कमी आएको छ । एजेन्सी