चितवन । चितवनका व्यवसायीहरुको सामाजिक संस्था राउण्ड टेबल–१४ले आर्थिक अवस्था कमजोर भएका एक अपांगलाई ह्वीलचेयर सहयोग गरेको छ । बुधबार देवघाट स्थित खेम गुरुङ्गको निवासमै गएर राउण्ड टेबलका पदाधिकारी लगायतको टोलीले सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष डाक्टर सन्दीप गर्गले संस्थाले आफ्नो नियमित कार्य अनुसार गुरुङ्गलाई ह्वीलचेयर सहयोग गरेको बताए । ‘हामीले दुर्घटनाबाट घाइते भएर गुरुङ्गको हात खुट्टा समेत नचल्ने भएको थाहा पाएपछि गुरुङ्गको दैनिक जीवन सहज होस भन्ने हेतुले सहयोग गरेका हौं । उहांँको आर्थिक अवस्था कमजोर र दयनीय पनि छ ।’ अध्यक्ष गर्गले भने । गुरुङ्गको शरीरको अवस्था अनुसार इन्फीनीटी ल्याबका इञ्जिनियरले कस्टमाइज गरी उक्त ह्वील चेयर बनाएका थिए ।
ह्वील चेयर हस्तान्तरण कार्यक्रममा डा.प्रेरणा बंशल, संस्थाका पूर्व अध्यक्ष विकास बर्मा, प्रेम राठी लगायत को उपस्थिति रहेको थियो । संस्थाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामाग्री वितरण, सार्वजनिक शौचालय निर्माण र रक्त दान कार्यक्रम लगायतका सामाजिक कार्य गर्दै आएको छ ।