चितवन । प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा आनन्दप्रसाद न्युरे चयन भएका छन् । संस्थाको शनिबार भएको विशेष साधारण सभाले न्युरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति र तीन सदस्यीय लेखा समिति चयन गरेको हो ।
सहकारीको वरिष्ठ उपाध्यक्षमा ईश्वरकुमार श्रेष्ठ, उपाध्यक्षमा बाबुराजा सिंह, सचिवमा हरिप्रसाद भट्ट र कोषाध्यक्षमा राजेन्द्रप्रसाद न्यौपाने चयन भएका छन् । सदस्यहरुमा कल्पनादेवी थापा, तोयनाथ भट्टराई, हरिबहादुर घर्ती, कुमारी गुरूङ, श्याममाया सार्की र हर्कबहादुर मगर रहेका छन् । लेखा समिति संयोजकमा कुष्माखर अधिकारी तथा सदस्यहरुमा गुणाखर तिवारी र नारायण कोइराला रहेका छन् ।
सहकारीको स्थापना विसं २०५६ सालमा स्थापना भएको हो । यस सहकारीको आफ्नै भवन रहेको छ भने करिब तीन करोड रूपैयाँको दूध प्रशोधन मेसिन छ । त्यस्तै, २०० गाई पाल्ने करिब पाँच करोड रूपैयाँ लागतको फार्म सञ्चालनमा छ । फार्ममा सयभन्दा वढी उन्नत नश्लका दुधालु गाईहरु छन् ।
आफ्नो फार्मबाट दैनिक ७०० लिटर र संस्थाका किसानहरुबाट ८०० लिटर गरी दैनिक जम्मा १५ सय लिटर दूधको संकलन र बिक्रीवितरण भइरहेको सहकारीका वर्तमान अध्यक्ष न्युरेले जानकारी दिए ।
दूध संकलन र बिक्रीमा संस्थाले प्रतिलिटर तीन रूपैयाँ संस्थाको खर्च राखेर गुणस्तरको आधारमा सरकारले तोकेको दररेटअनुसार आफ्ना किसानलाई भुक्तानी गरिरहेको उनले बताए । पछिल्लो समय सरकारले दूध तथा दुग्धजन्य पदार्थको आयातमा नियन्त्रण गरिरहेको उनले बताए ।
व्यावसायिकरुपमा दूध उत्पादन गर्ने किसानहरु आबद्ध भएको यस सहकारीले भविष्यमा दूधलाई पाउडर बनाउने, घिउ बनाउने, क्रिम बटर बनाउने र दुई वर्षसम्म दुग्धजन्य पदार्थ भण्डारण गर्ने व्यवस्था मिलाइने उनले बताए ।
आगामी तीन वर्षभित्र संस्थाले दैनिक १० हजार लिटर दूधको उत्पादन, संकलन, बिक्रीवितरण र औद्योगिकीकरण गरी स्थानीय एक हजार घरपरिवार किसानलाई व्यावसायिक बनाउने लक्ष्य लिएको छ । माडीमा ४० बिघा जग्गा २० वर्ष भाडामा लिई २० बिघामा बहुवर्षे घाँसखेती र २० बिघामा धान, गहुँ, मकै साथै अर्गानिक तरकारी उत्पादन गर्ने सहकारीले लक्ष्य लिएको छ ।
आगामी पाँच वर्षभित्र भरतपुर महानगरभित्रै संस्थाले पाँच बिघा जग्गा आफैँ खरिद गरी एक हजार गाईभैँसी पाल्ने योजना सहकारीको छ । आफ्नै फार्मका गाईभैँसीको मलमूत्र प्रयोग गरी खेतीपाती गर्ने, प्रशोधन गरी बिक्रीवितरण गर्ने, आगामी दुई वर्षभित्र संस्थाले आफैँ दाना उद्योग र भेटेरिनरी औषधि पसल चलाउने, आफ्ना किसानको गाईभैँसीको निःशुल्क उपचार गर्ने लगायतका महत्वाकांक्षी योजना सहकारीले बनाएको छ ।