काठमाडौं । कमेडी जनराको चलचित्र ‘भाइरल गोर्खे’मा चर्चित पत्रकार ऋषि धमला अनुबन्ध भएका छन् । धमलाले आज (बिहीबार) चलचित्रका लागि कागजी सम्झौता गरेका हुन् ।
चलचित्रमा धमलाले पत्रकारको भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिए । चलचित्रको छायाँकन बैशाख ९ गते लम्जुङको भुजुङ गाउँबाट सुरु भएको छ । छायाँकनका लागि बैशाख तेस्रो साता धमला भुजुङ गाउँ जानेछन् ।
पत्रकार ‘धमलाको हमला’ कार्यक्रम निकै चर्चित छ । चितवनका युवा उद्यमी महेश लामिछाने र विशाल ताम्राकार निर्मित चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, लक्ष्मी गिरी, वुद्धि तामाङलगायतको मूख्य भूमिका छ । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रमा अमर महर्जनको छायांकन रहनेछ ।
सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथामा निर्माण हुने चलचित्रको छायाँकन भुजुङसहित काठमाडौं, गोरखा र चितवनमा हुने निर्माता लामिछानेले बताए ।