काबुल । तालिबान समूहले मंगलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आममाफी’को घोषणा गरेको छ ।
तालिबान नेतृत्वले शरिया कानुनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ । शरिया कानुन इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानुन हो ।
तालिबानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आममाफी दिइने बताएका फ्रान्सेली टेलिभिजन फ्रान्स–२४ ले उल्लेख गरेको छ ।
“पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,” सामङ्गानीले माफीको घोषणा गर्दै भने । शरिया कानुनबमोजिम महिलालाई पनि सरकारमा सहभागी हुन दिइएको छ । तर, उनीहरू शरिया कानुनानुसार सरकारी संरचनामा रहनुपर्छ ।
अफगानिस्तानको प्रमुख टीभी स्टेसन टोलो न्युजले उसको एक महिला कार्यक्रम सञ्चालिकाले मंगलबार तालिबानको सञ्चार समूहका सदस्य सामाङ्गिनीसँग लिएको अन्तरर्वार्ता प्रसारण गरेको थियो । उक्त कार्यक्रममा ती तालिबान सदस्यले सरकारको संरचना अझै पूर्ण रूपमा स्पष्ट नभएको तर अनुभवका आधारमा पूर्ण इस्लामिक नेतृत्व हुनुपर्ने र सबै पक्षलाई समावेश गरिने बताएका थिए ।
तालिबानले अफगानिस्तानलाई कसरी शासन गर्ने भन्ने विषयमा घोषणाहरूमा स्पष्ट भएका छैनन् । तर, सांकेतिक रूपमा उनीहरूले इस्लामी ‘सिद्धान्त’अनुसार हुने जनाएका छन् ।
इस्लामी कानुन शरियको कठोर व्याख्याअनुसार शासन गर्ने तालिबानको अधीनमा महिलाहरू धेरै हदसम्म आफ्नो घरमा मात्र सीमित थिए । विद्रोहीहरूले हालैका वर्षहरूमा यसमा केही लचक बन्ने प्रयास गरेका भए पनि थुप्रै अफगानीहरूले नै तालिबानले सत्ता सञ्चालनका क्रममा देखउन सक्ने शैलीप्रति शंका व्यक्त गरेका फ्रान्स–२४ टेलिभिजनले उल्लेख गरेको छ । रासस/एएनआई