चितवन । भरतपुर महानगरपालिका वडा नं–२ का स्थायी बासिन्दाले स्वास्थ्य, शिक्षा र कृषिमा सहुलियत पाउने भएका छन् । वडाध्यक्ष मनोज रानाभाटले स्वास्थ्य, कृषि र शिक्षामा सहुलियतका लागि सम्बन्धित निकायसँग सम्झौता गरेको बताए ।
वडाध्यक्ष रानाभाटका अनुसार बालबालिकाहरुले सहुलियतमा पढ्ने सुविधाको ग्यारेन्टी गर्नका लागि संस्थागत विद्यालयसँग पनि सम्झौता गरिएको छ । उनका अनुसार फलफूल, तरकारी पनि सहुलियतमा खरिद गर्नका लागि क्षेत्रपुरको महानगर फलफूल तथा तरकारी बजारसँग सम्झौता भएको छ ।
सम्झौताअनुसार अब भरतपुर–२ का स्थायी बासिन्दाले पुरानो मेडिकल कलेजबाट पाउने विभिन्न सेवासुविधामा ५० प्रतिशतसम्म सहुलियत पाउने छन् । सहुलियत लिनका लागि वडा कार्यालयको सिफारिस अनिवार्य छ ।
यस्तै, वडाले संस्थागत विद्यालयसँग २५ प्रतिशतसम्म छात्रवृत्तिका लागि पनि सम्झौता गरेको वडाध्यक्ष रानाभाटले बताए । उनका अनुसार वडा नं–२ भित्र रहेका संस्थागत विद्यालयहरुले भर्ना शुल्कमा २५ प्रतिशत र वार्षिक शुल्कमा १० प्रतिशत छात्रवृत्ति दिनेछन् । यो सुविधा भरतपुर–२ का स्थायी बासिन्दाले मात्र पाउने छन् ।
यस्तै, वडा कार्यालयले फलफूल र तरकारी खरिदमा ४० प्रतिशतसम्म छूटका लागि महानगर फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिसँग सम्झौता गरेको छ । भरतपुर–२ मा रहेका विभिन्न संघसंस्थाहरुको कार्यक्रममा आवश्यक पर्ने तरकारी तथा फलफूलमा वडा कार्यालयको सिफारिसमा ४० प्रतिशत छूटमा तरकारी तथा फलफूल उपलब्ध गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
वडा अध्यक्ष रानाभाटको उदाहरणीय काम : वडाबासीलाई स्वास्थ्य, शिक्षा र कृषिमा सहुलियत
वडा अध्यक्ष रानाभाटको उदाहरणीय काम : वडाबासीलाई स्वास्थ्य, शिक्षा र कृषिमा सहुलियत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु