चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताका लागि सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरसँँग सम्झौता भएको छ । प्रतियोगिताका लागि भरतपुर महानगर र सेन्ट्रल कलेजबीच आज (बिहीबार) सम्झौता भएको हो ।
सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र सेन्ट्रल कलेजका तर्फबाट प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले हस्ताक्षर गरे । महानगर र सेन्ट्रल कलेजबीच ११ लाख २८ हजार २०० रुपैयाँको सम्झौता भएको छ । सम्झौता अनुसार सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहनेछ । सेन्ट्रल कलेजले प्रतियोगिताका लागि सम्झौता रकम बराबरको खेल सामाग्री सहयोग गर्नेछ ।
सम्झौतापछि महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुदको हबको रुपमा बिकास गरिने बताईन् । मेयर कप क्रिकेटपछि फुटबल आयोजना गरिएको भन्दै दाहालले आगामी वर्ष अन्य खेललाई पनि समेट्दै खेलाडी उत्पादन र खेल क्षेत्रको बिकासको योजना बनाएर अघि बढ्ने बताईन् । मेयर दाहालले सेन्ट्रल कलेजलाई सहकार्यका लागि धन्यवाद दिदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।
सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेलले ग्रासरुटबाटै फुटबलको बिकासका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । प्रतियोगिता विद्यालयस्तरदेखि नै खेल र खेलाडीको बिकासका लागि महत्वपूर्ण हुने भएकोले महानगरसँग सहकार्य गरिएको बताए । उनले खेल क्षेत्रको बिकासका लागि सहकार्य गर्न सेन्ट्रल कलेज सधैं तयार रहने बताए ।
चितवन जिल्ला फुटबल संघ सह आयोजक रहेको प्रतियोगिता बैशाख तेस्रो साताबाट सुरु हुनेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका ४८ विद्यालय सहभागी हुनेछन् । ४८ विद्यालयबाट सामुदायिक र संस्थागत १२-१२ गरि २४ टोली प्रतियोगिताका लागि छनौट गरिने संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए ।
उक्त २४ टोलीबीच लिग हुनेछ । ग्रासरुट फुटबलका लागि यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने कार्कीको भनाइ छ । संघले यसलाई महत्वपूर्ण कार्यकमको रुपमा लिएको उनले बताए । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ । रासस