चितवन । रामपुर एफसी रड्सविरुद्ध सहज जित हात पार्दै आबुखैरहनी गाउँपालिका सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (शुक्रबार) सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आबुखैरहनीले रामपुर रड्सलाई १ का विरुद्ध ३ गोलले हरायो । आबुखैरहनीको जितमा क्प्तान शन्त गुरुङले दुई तथा अबायमीले एक गोल गरे । रड्सका कप्तान अनिल राना मगरले एक गोल फर्काए ।
खेलको चौथो मिनेटमा नै आबुखैरहनीले गोल गर्दै अग्रता लिएको थियो । जितेश गुरुङको पासमा गोल गर्दै शन्तले आबुखैरहनीलाई अग्रता दिलाए । पहिलो हाफमा नै रड्सले बराबरी गोल फर्कायो । उसका लागि कप्तान अनिलले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे ।
दोस्रो हाफमा आबुखैरहनीले दुई गोल थप्यो । दोस्रो हाफको चौथो मिनेट अबायमीले गोल गर्दै आबुखैरहनीलाई २-१ को अग्रता दिलाए । दोस्रो हाफको १५ औं मिनेटमा शन्तले व्यक्तिगत दोस्रो गोल गरेपछि आबुखैरहनी ३-१ ले विजयी भयो । शन्त नै म्यान अफ दि म्याच भए ।
चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । चौथो तथा अन्तिम क्वाटरफाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) भण्डारा एफसी रड्स र गैंडाकोट एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।
चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।