काठमाडौं । भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टको जग्गा सम्बन्धी विवाद कायमै रहेको बेला खरिद बिक्री गर्न लागेको पाइएको छ ।
“सामुदायिक प्रयोगको सरकारी सम्पत्तिमा निर्मित संरचना भत्काई सरकारी सम्पत्तिको संरक्षण गरि पाउँ” भनी परेको मुद्धामा रुपन्देही जिल्ला अदालतले २०७६ साउन २९ गते वादीको पक्षमा फैसला गर्दै सेयर रोक्का राखेर सोको जानकारी अदालतलाई दिन कम्पनी रजिष्टारको कार्यालयलाई निर्देशनसमेत दिएको थियो ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश रमेशराज पोखरेलले उक्त मुद्दामा निवेदकका नाममा फैसला गर्दै विपक्षी अर्थात् टाइगर वन प्राइभेट लिमिटेडको सेयर, हक हस्तान्तरणसमेत गर्न नपाउने गरी यथास्थितिमा राख्न निर्देशन दिएका थिए ।
जिल्ला अदालतको उक्त फैसलालाई २०७७ माघ १५ गते उच्च अदालतले समेत सदर गरेको थियो ।
अहिले सोही रिसोर्ट अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज गु्रपले नेपाली व्यवसायीलाई बिक्री गर्न लागेको बताइएको छ ।
उक्त रिसोर्ट बुटवलका व्यवसायी बालकृष्ण भुसाल र उनको टीमले खरिद गर्न लागेको बताइएको छ ।
सिल्भर हेरिटेज गु्रप र व्यवसायी भुसालबीच उक्त रिसोर्ट खरिद बिक्रीको सम्झौता गर्न लागिएको छ ।
भुसाल टिमले हाल रिसोर्टको डीडीए रिपोर्ट तयार पारिरहेको छ । डीडीए रिपोर्ट आएपछि खरिद बिक्री विषयलाई अगाडि बढाउने बताइएको छ ।