चितवन । नेपाल औषधि उत्पादक संघ लगायतका व्यवसायीले सरकारले नेपाली औषधि उद्योगलाई सहयोग नगरेको गुनासो गरेका छन । भरतपुरको चितवन प्रर्दशनी केन्द्रमा नेपाल औषधि उत्पादक संघ ( एपोन)को आयोजनामा आजबाट शुभारम्भ भएकोे ९ औ फर्मा एक्स्पो उद्ध्घाटनमा सहभागी बक्ताहरुले ऐन नीति समयसापेक्षा शंशोधन गरी यसको प्रर्वद्धन गर्न आग्रह गरेका हुन । उनीहरुले समय अनुसार औषधिको मुल्य समायोजन नगरिएको, निर्यात प्रर्वद्धनमा राज्यले सहयोग नगरेको र सरकारले स्वदेशी औषधि प्रयोग नगरेको भन्दै गुनासो गरेका थिए ।
उद्दघाटन समारोहमा स्वागत मन्तव्य दिदैं एपोनका वरिष्ठ उपाध्यक्ष प्रदीप रुंगाटाले अर्थतन्त्र मजबुद हुन उद्योगहरु मजबुद हुनुपर्ने भन्दै सरकारको सहयोग विना औषधि उद्योगको प्रर्वद्धन नहुने बताए । ‘औषधि उद्योगको प्रर्र्वद्धन गर्न गुणस्तरीयता, नवीनतम प्रविधि आवश्यक पर्छ र राज्यले निर्यातको लागि सहयोग गर्नुपर्छ, उनले भने , यसको लागि औषधि ऐन शंशोधन र परिमार्जन गर्न जरुरी छ ।’
उनले स्वदेशी औषधि डब्लुएचओको मापदण्ड अनुसार उत्पादन भएकोले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए ।
केमिकल एण्ड मेडिकल सप्लायर्सका अध्यक्ष भक्त हमालले फर्मा एक्स्पोले चितवनको मात्रै नभई देशकै अर्थतन्त्र चलायमान बनाउन मदत गर्ने बताए । औषधिमा आत्मनिर्भर बनाउन ऐन शंशोधन जरुरी रहेको उनको भनाई थियो ।
उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य हेमराज ढकालले नेपाली औषधिको आयात कम र निर्यात क्रमश बढाउनुपर्नेमा जोड दिए । उत्पादन बृद्धि गर्दै निर्यात प्रर्वद्धन गर्ने नीति हुनु पर्ने उनले बताए । आयातित कच्चा पदार्थको कर निशुल्क र तयारी औषधिको आयातमा कर बृद्धि गर्नुपर्ने उनको भनाई थियो । नेपालको अर्थतन्त्र कमजोर भएको भन्दै भारतको अर्थतन्त्र बाट नेपालले सिक्नु पर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्कीले सरकारको कमजोर नीति र नियतका कारण औषधि उद्योगको विकास हुन नसकेको बताए । स्वदेशी उद्योगको प्रर्वद्धनमा सरकारको न्युन उपस्थिति रहेको र सरकारी औषधि प्रर्वद्धनमा वेवास्ता गरिएको बताए । औषधि उद्योगी अस्वस्थ प्रतिस्पर्धा नगरी एक अर्काको परिपुरक हुनुपर्ने उनको भनाई थियो ।
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष प्रकाश कुमार खण्डेलवालले सरकारी नीतिगत सुधार गरे औषधि उत्पादनमा बृद्धि हुने बताए ।एकै प्रकारका औषधि उत्पादनका कारण समस्या सिर्जना भएको भन्दै उनले बजारको आवश्यकता अनुसार सरकारले लाईसेन्स दिनुपर्नेमा जोड दिए । भरतपुर अस्पताल समितिका अध्यक्ष राजु पौडेलले नीजि क्षेत्र र सरकार एउटै सिक्काको दुई पाटा रहेकोले एक अर्काको सहकार्य अनिवार्य रहेको बताए ।
एपोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले खुल्ला अर्थतन्त्र नीति नियन्त्रणमा नहुने भन्दै आर्थिक संकटका कारण कतिपय उद्योग बन्द हुने क्रम रहेकोले यसमा सरकारमात्रै दोषी नभएको तर्क गरे ।
एपोनका निवर्तमान अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले सरोकारवालाबीच सहकार्य हुनुपर्ने भन्दै औषधि उद्योगले उत्पादन संँगै रोजगारी बृद्धिमा टेवा पुगेको बताए ।
सो अवसरमा बोल्दै जाम्बियाका मेडिसिन रेगुलेटरी अथोरोटी डाईरेक्टर माकोमानी सियान्गाले नेपाली औषधिको प्रर्वद्धन र खरीदका लागि सहकार्य गर्न आफुहरु तयार रहेको बताए । फर्मा एक्स्पोले प्रविधि ,अनुभव साटासाट गर्ने अवसर प्रदान गरेको भन्दै जाम्बिया देशबाट भविष्यमा लगानीको वातावरण सिर्जना गर्न पनि आफु लाग्ने बताए ।
औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपाली औषधि अन्तरराष्ट्रिय स्तरको गुणस्तर रहेकोले यसको निर्यातको लागि ऐन नीति शंशोधन गरी निर्यात गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । ‘औषधि ऐन २०६४ शंशोधन भएको छैन, ऐन शंशोधन नगरी काम गर्न मिल्दैन , उनले भने, राज्यको सहयोग विना औषधिको प्रर्वद्धन गर्न सकिदैन ’।उनले अन्य सरकारी निकायका कर्मचारीहरुलाई पनि नेपाली औषधि प्रयोग गर्नमा सरकारले सहयोग गर्नुपर्ने बताए ।
नेपाल औषधि विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधि प्रर्वद्धन र प्रयोग गर्न सरकार तयार रहेको बताए । नेपाली औषधि उद्योगले प्रविधियुक्त हुनुपर्ने भन्दै उनले गुणस्तरमा ध्यान दिन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले सरोकारवाला बीच साझा समझ्दारी हुनुपर्ने , सकारात्मक सोचको विकास हुनुपर्ने बताए ।
उनले उत्पादकको नियति, नियमन गर्ने निकायको नियति , सिफारीशको नियति सुधार हुनुपर्ने बताए । समय , देशको भुगोल , रोग, बजार र परिस्थिति अनुसार ऐन नीति परिमार्जन हुंँदै जाने उनको भनाई थियो ।
एपोनले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा आजदेखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको हो ।