चितवन । सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिप भोलि (शुक्रबार) देखि सुरु हुँदैछ । चितवन ११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रतियोगिताको शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंललाल घिसिङले उद्घाटन गर्ने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा फुटबल एकेडेमी र इमेज बसन्तपुर युनाइटेड भिड्ने छन् । खेल दिउँसो २ बजे हुनेछ ।
चैत १० गतेसम्म चल्ने प्रतियोगितामा १२ टिम सहभागी छन् । जसमा चितवनका ६ र बाहिरी जिल्लाका ६ टिम छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । भरतपुर चार पर्यटकीय स्थलका नाममा चार पोलको नामाकरण गरिएको छ । प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । दर्शकका लागि पहिलो चरणमा ५० तथा क्वाटरफाइनलदेखि फाइनल सम्मका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने क्लबका अध्यक्ष कार्कीको विश्वास छ ।