दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्ने लक्ष्य राखिएको हो ।
पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार ताल निर्माणका लागि बाँध बनाउन सुरु गरिएको छ । कृत्रिम ताल सिँचाइ, मस्त्यपालनलगायत पर्यटनमार्फत आयआर्जन गर्ने उद्देश्यका साथ ताल निर्माण थालिएको न्यौपानेको भनाइ छ ।
ताल निर्माणका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत रु १० लाख, व्यास नगरपालिकाबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु एक करोड ५० लाख विनियोजन भएको छ । नगरपालिकाले कृत्रिम ताल निर्माणका लागि स्थानीयवासीलाई जग्गाबापतको रु एक करोड ३७ लाख ८६ हजार पाँच सय मुआब्जा वितरण गरिसकेको छ । नारेश्वर खोलाको पानी थुनेर कृत्रिम ताल निर्माणका लागि २४ रोपनी ११ आना जग्गाका लागि स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
जग्गा अधिग्रहणबापत सिम र अब्बललाई प्रतिरोपनी रु पाँच लाख ५० हजारका दरले र दोयमलाई प्रति रोपनी रु पाँच लाख ७५ हजारका दरले मुआब्जा वितरण गरिएको छ । २८ रोपनी क्षेत्रफलमा बाँध बाँधेर कृत्रिम ताल बनाउने नगरपालिकाको योजना छ । ताल निर्माणका लागि करिब रु चार करोड बजेट लाग्ने अनुमान छ । ताल निर्माणका लागि रु एक करोड ८४ लाखको लागतमा ठेक्का सम्झौता गरिएको छ । ताल निर्माणको ठेक्का जिएस निर्माण सेवाले पाएको छ ।
विसं २०७५ पुस २० गते गण्डकी प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ताल निर्माणको सुरुआत गर्नुभएको थियो । तर काम अगाडि बढ्न सकेको थिएन । तीन सय मिटर लम्बाइ रहने तालको चौडाइ २८ देखि ६८ मिटरको रहने वडाध्यक्ष खेमराज पोख्रेलले जानकारी दिनुभयो । तालको औसत गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटरको रहनेछभने कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर बाँधको उचाइ रहने तालमा बाँधको चौडाइ छ दशमलव पचासी (जगमा) देखि एक दशमलव ५० मिटर (टुप्पोमा) रहनेछ । तालको क्षमता २५ हजार देखि ३० हजार घनमिटरको रहनेछ ।
उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । “ताल निर्माण भएसँगै यहाँका स्थानीयवासीले रोजगारी समेत पाउनेछन्,” उहाँले भन्नुभयो, “तालसँगै अन्य संरचना पनि निर्माण भएपछि पर्यटक आकर्षित गर्न सकिनेछ ।” रासस