भरतपुर । छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।
आज (शुक्रबार) दुई खेल सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । आज सम्पन्न तेस्रो र चौथो क्वाटरफाइनल खेलमा जित हात पार्दै यात्रा ग्रुप र आयोजक युनिक एफसी निलो सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आजको पहिलो खेलमा यात्राले रामपुर एफसीलाई सडन डेथमा निराश बनायो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकरमा पनि ३-३ को बरबारी भएपछि खेल सडन डेथमा धकेलियो । जसका यात्राले बाजी मार्यो । यात्रामा विवेक मगर म्यान अफ दि म्याच भए ।
आजको दोस्रो खेलमा आयोजक नारायणी मोटर्स युनिक एफसी निलोले नारायणी एफसीलाई १-० ले हरायो । युनिकको जितमा खेलको आठौं मिनेटमा विवेक गुरुङले निर्णायक गोल गरे । उक्त गोल नै युनिकलाई जिताउन पर्याप्त भयो । विवेक म्यान अफ दि म्याच भए ।
प्रतियोगितामा शनिबार सेमिफाइनल चरणका दुबै खेल हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे भोजाड एफसी र यात्रा भिड्नेछ । भने दोस्रो खेलमा दिउँसो ३ बजे ठोरी एफसीले आयोजक युनिक निलोको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछ ।