कर्णाली । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्लाको ताम्ती गाउँका एक बालकसहित एकै घरका तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७, ताम्तीका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
सोही वडाको पाटनमा सेतक चिनी जडीबुटी कोरेर घर फर्कने क्रममा बिहीबार बेलुका दुनेखोलामा आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
उनका अनुसार फोन सम्पर्क नहुँदा घटनाको खबर ढिला आएको र ताम्ती पाटन पुग्न सदरमुकाम जुम्लाबाट करिब ४० किलोमिटर टाढा भएकाले प्रहरीलाई स्थलगत मुचुल्का बनाउन ढिला भएको हो । आफन्त र स्थानीय जनप्रतिनिधिको रोहबरमा मुचुल्का बनाएर प्रहरी फर्किसकेको छ ।
दुई साताअघि जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर निवासी एक अपांगता भएका महिला पानीघट्ट गएको बेला छुमचौर खोलामा आएको बाढीले बगाउँदा ज्यान गएको थियो । रासस