चितवन । तीन तहका सरकार र मिडियाबीचमा बहस पैरवी हुन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । राष्ट्रिय समाचार समिति जिल्ला कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाद्वारा प्रजातन्त्र दिवस तथा राष्ट्रिय समाचार समितिको ६३ औँ बार्षिकोत्सवका अवसरमा इच्छाकामनामा आयोजित सङ्घीयता स्थानीय सरकार र पत्रकारबीच अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिकलाई सङ्घीयताको प्रत्याभूती दिलाउन स्थानीय तह प्रदेश र केन्द्र तीनै तहका सरकार र मिडियाबीच बहस पैरवी हुन आवश्यक रहेकोमा जोड दिएका हुन् ।
कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले व्यवस्थाको रक्षाका लागि मिडिया तथा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले स्थानीय सरकारले गरेका कामहरु जनतासामु जस्ताको तस्तै पु¥याउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “लामो संघर्षपछि प्राप्त उपलब्धीहरुको रक्षा गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ, जनप्रतिनिधिले कस्तो काम गरेको छ जस्ताको त्यस्तै जनता सामु समाचार मार्फत पु¥याउन आवश्यक छ ।” उहाँले स्वच्छ आलोचनाले आफ्ना कमिकमजोरी सच्याउने मौका पाउने बताउनुभयो ।
ग्रामीण क्षेत्रमा भएका गतिविधिलाई उजागर गर्न पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभयो । जिल्लाभित्रका क्रियाशील पत्रकारहरुलाई पर्यटकीय हिसाबले महत्वपूर्ण ईच्छाकामनाका ग्रामीण क्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ गरिदिन उहाँको अनुरोध थियो । उहाँले भन्नुभयो “इच्छाकामना विकट होइन, पर्यटकीय स्थल हो, यहाँबाट हिमालदेखि तराईका फाँटहरु सहजै दृश्यावलोकन गर्न सकिन्छ ।”
कार्यक्रममा प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले तीन तहका सरकारबीच कार्य विभाजनको अन्यौलताले नागरिकले संघीयताको अनुभूत गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो “संघीयताका विषयमा मिडिया र तीनै तहका सरकारबिच गहनरुपमा बहस पैरवी हुन आवश्यक छ ।” तीनै तहका सरकारको कार्य विभाजनमा अलमलता देखिएको भन्दै आचार्यले सङ्घीय सरकारले गर्ने काम के हो, प्रदेश सरकारले गर्ने काम के हो र स्थानीय सरकारले गर्ने काम के हो ? भन्ने अझै निक्र्याैल हुन सकेको छैन ।
उहाँले सबैभन्दा प्रभावकारी र पहिलो समाचारको माध्यम स्थानीय मिडिया भएकाले स्थानीय सरकारले मिडियामैत्री कानुन बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले इच्छाकामना भूगोलले विकट रहेपनि धार्मिक तथा पर्यटकीय स्थलहरुले भरीपूर्णरहेको बताउनुभयो । उहाँले यहाँको प्रचारप्रसारका लागि भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, प्रेस चौतारी नेपालका निर्वाचन आयोगका केन्द्रीय उपाध्यक्ष नवराज ढकाल, प्रेस यूनियन चितवनका अध्यक्ष अनिल भट्टराई, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, इच्छाकामना वडा नम्बर ५ का वडाध्यक्ष रुद्र उप्रेतीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय सरकार र पत्रकारबीच यस्ता बहस अन्तरक्रिया हुन आवश्यक रहेको बताउनुभएको थियो । विशेष गरी स्थानीय तहले स्थानीय मिडियालाई प्राथमिकतामा राख्नुपर्ने बक्ताहरुको जोड दिनुभएको थियो ।
राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायण अधिकारीले राष्ट्रिय समाचार समितिको सेवा सुविधाका बारेमा जानकारी गराउँदै संघीयतामा स्थानीय तहसम्म पत्रकारहरुलाई पु¥याउने उद्देश्यले गाउँपालिका आएर कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा इच्छाकामनाका साथै भरतपुरबाट राष्ट्रिय र स्थानीय सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको सहभागिता गराईएको थियो । गाउँपाकालिका कार्यालयका विभागीय प्रमुखहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।