चितवन । नारायणी मोटार्स युनिक क्लब भरतपुर ११ को आयोजनामा माघ २७ देखि छैठौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
युनिक क्लबको आयोजनामा माघ २७ देखि हुने छैठौं संस्करणको गणेशबहादुर स्मृति फुटबल फागुन ७ गतेसम्म चल्नेछ । भरतपुर ११ कैलाशटोलस्थित क्लबको मैदानमा हुने प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर र पर्साका गारी १६ टोली सहभागी हुने कार्यक्रम संयोजक अमृत घलेले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजकले घलेले बताए । प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर र, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्ने उनले जानकारी दिए ।
प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको क्लबका अध्यक्ष दीपक गुरुङले बताए । प्रतियोगितालाई यस पटक अघिल्ला संस्करण भन्दा व्यवस्थित गर्ने गरी तयारी चलिरहेको गुरुङको भनाइ छ । क्लबले हरेक वर्ष गणेशबहादुर स्मृति फुटबल आयोजना गर्दै आएको छ ।