चितवन । चितवनमा जारी मैयाँदेवी स्मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश विजयी भएका छन् ।
आज (सोमबार) १५ ओभरमा घटाईएको पहिलो खेलमा सुदुरपश्चिमले कोशी प्रदेशविरुद्ध १९ रनको जित निकालेको हो । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको एक सय ५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो ।
कोशीका लागि रिया शर्माले नट आउट २७ रन बनाईन् । टिका साहले आक्रमक ब्याटिङ गर्दै नटआउट २५ रन बनाए पनि हार टार्न सकिनन् । १५ बल खेलेकी टिकाले ५ चौका प्रहार गरिन् । प्रतिभा मण्डल १० रनमा नटआउट रहिन् । सुदुरपश्चिमकी अनु कडायत र कप्तान स्नेहा महराले समान २-२ विकेट लिए ।
त्यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै एक सय ३ रन बनाएको थियो । सुदुरपश्चिमकी सावित्री धामीले आक्रमक ब्याटिङ गर्दै २३ बलमा ६ चौकाको मद्दतमा नटआउट ३३ रन बनाईन् । कप्तान स्नेहाले नटआउट २० रन जोडिन् । ओपनरद्धय निलम पाण्ड्या र मनिषा बोहराले क्रमश: १६ र १० रन जोडे । कोशीकी निरा राजवंशी र रिया शर्माले समान १-१ विकेट लिए ।
उता आजै सम्पन्न दोस्रो खेलमा बागमतीले लुम्बिनीविरुद्ध ८७ रनको फराकिलो जित निकालेको छ । बागमतीले दिएको एक सय ३२ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ ओभर ५ बलमा ४४ रनमै समेटियो । बागमतीको कशिलो बलिङ सामू लुम्बिनीका ब्याटर टिक्न सकेनन् ।
लुम्बिनीकी कप्तान आश्मा पुलामी मगरले ५५ बलमा सर्वाधिक २२ रन जोडिन् । लुम्बिनीका ७ ब्याटर खाता नखोली पेभिलियन फर्किए । ३ ब्याटरले व्यक्तिगत एक-एक रन मात्र जोडे । लुम्बिनीलाई सस्तैमा समेट्न बागमतीकी कप्तान सोनी पाख्रिन, मनिषा उपाध्याय र विपिशा शाहीले समान ३-३ विकेट लिए ।
त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको बागमतीले विपिशाको ४० रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३१ रन बनाएको थियो । ३५ बल खेलेकी विपिशाले ७ चौका प्रहार गरिन् । एेली यादवले २१ तथा ओपनर एलिसा खड्काले १७ रन जोडे ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा मंगलबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९:३० बजे गण्डकी र मधेस भिड्नेछन् भने दोस्रो खेल दिउँसो १:३० बजे लुम्बिनी र कर्णाली प्रदेशबीच हुनेछ ।