चितवन । जेसिजका युवा उद्यमीहरुले अर्थशास्त्री तथा सांसद डा. स्वर्णिम वाग्लेसंँग अन्तरक्रिया गरेका छन । शनिबार नारायणगढ जेसिजले नारायणगढमा आयोजना गरेको ‘नेपाली अर्थतन्त्रको वर्तमान अवस्थामा युवा उद्यमीको नेतृत्व र भुमिका’ बिषयक कार्यक्रममा सहभागी युवा उद्यमीहरुले अन्तरक्रिया गरेका हुन् । डा. वाग्लेसंँग उनीहरुले कोभिडपछि शिथिल भएको अर्थतन्त्र, तरलता कम र बढ्दो व्याजदरका कारण, युवावर्ग विदेश पलायन र बढ्दो आयात र सरकारको पोलिसी लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।
जिज्ञासाको जवाफ दिंँदै उनले देशको अर्थतन्त्र ओरालोमा लाग्नु अनुत्पादक क्षेत्रमा लगानी हुनु र आयातमा बृद्धि भएको बताए । ‘कोभिडपछि अत्यधिक ऋण लगानी र तरलता प्रवाह भयो, उनले भने त्यसमध्येपनि घरजग्गा, शेयरमा लगानी र निर्यातको तुलनामा आयातमा बृद्धि भयो ।’
पछिल्लो समय उद्यमी व्यवसायमा लिएको ऋणको व्याजदरमा बृद्धि हुनु, कम उत्पादन क्षमतामा उद्योगहरु चल्नु र सबै क्षेत्रको उपभोगमा समेत ह्रास भएकोले अर्थतन्त्र शिथिल भएको उनको भनाई थियो ।अर्थतन्त्र पनि देशको राजनीतिमा निर्भर रहने हुनाले अर्थतन्त्र बलियो बनाउन स्थिर राजनीति हुनुपर्ने उनको भनाई थियो ।
‘राजनीतिकर्मीले, सरकारमा बस्नेको नियत, सोच र क्षमता बृद्धि गर्नुपर्छ ।’ वाग्लेले भने । नेपालको अर्थतन्त्र श्रृलंकाको जस्तो नभएको भन्दै विदेशी मुद्रा संचिति मात्र कम भएको उनले बताए । ‘नेपालमा प्रशस्त स्रोत र संभावना छ उनले भने, आयातमा निर्भर हाम्रो अर्थतन्त्रको लागि विदेशी मुद्रा संचित हुनु अत्यन्त जरुरी छ ।’
देश राजश्व संकलन पुंजीगत खर्चमा मात्र ठिक्क हुने भएकोले रेमिट्यान्समा देशको अर्थतन्त्र परनिर्भर भएको उनले बताए । नेपालले कृषि र हस्तकलाका केही उपज बाहेक अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाई थियो । ‘नेपालको डिजिटलाईजेशनमा अत्यधिक सम्भावना छ , एप्स , सफ्टवेयर निर्माणबाट नेपालमै बसेर डलरआम्दानी गर्न सकिन्छ ।’ उनले भने ।
तीनदशक अघि नेपालजस्तै अल्पविकसित देशहरुले फड्को मारेको भन्दै उनले नेपालीको जीवनशैली परिवर्तन भएपनि प्रतिव्यक्ति आम्दानी र कुल ग्राहस्थ उत्पादन निकै कम भएको बताए । ‘हाम्रो जस्तै देश बंगलादेश, कम्बोडीया, भियतनाम सबैले उछिनिसक,े उनले भने, जबकि बंगलादेशको प्रतिव्यक्ति आम्दानी २८०० डलर छ । हाम्रो जम्मा १३०० डलर छ । भियतनामको ४५०० हाराहारीमा प्रतिव्यक्ति आय पुगिसक्यो ।’
देशको अर्थतन्त्र सुधार्न सक्ने भन्दै देशको पोलिसी, उद्यम व्यवसाय दर्ता, कर प्रणालीका बिषयलाई खुकुलो पार्दै र विदेशी लगानी ल्याउनु पर्ने उनको भनाई थियो ।
बरिष्ठ अर्थशास्त्री प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्ले प्रमुख वक्ता रहनु भएको उक्त अन्तरक्रिया कार्यक्रममा उधोग संघका उपाध्यक्ष एवं नारायणगढ जेसीजका पुर्व सदस्य मदन घिमिरे नारायणगढ जेसीजका पुर्व अध्यक्ष एवं उधोग वाणिज्य संघ चितवनका सदस्य सिनेटर विष्णु लम्साल अतिथिका रुपमा तथा नारायणगढ जेसीजका पुर्व अध्यक्ष चेम्बर अफ कमर्सका सचिव जेसी अर्जुन अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रममा नारायणगढ जेसीजका पुर्व अध्यक्षहरु शाखाका पदाधिकारी, सदस्यहरु, छिमेकी शाखाबाट अध्यक्ष एवं पदाधिकारीहरु, विभिन्न संघ संस्थाहरुबाट अध्यक्ष एवं प्रतिनिधि, युवा उद्यमी एवं व्यावसायिहरुको उत्साहजनक सहभागिता रहेको थियो।
नारायणगढ जेसीजका शाखा अध्यक्ष जेसी राजेन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजन कार्यकारिणी उपाध्यक्ष जेसी रामबाबु पुडासैनीले गरेका थिए ।