चितवन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ड्राइभिङ स्कुल व्यवसायी सरकार र सेवाग्राही बीच समन्वय हुनुपर्ने बताउनुभएको छ ।
भरतपुरमा ड्राइभिङ स्कुल सङ्घको पांँचौ केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले आपसी सहकार्य र समन्वयले भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार गर्न सकिने बताउनुभयो । पछिल्लो समय ड्राईभिङ्ग स्कुलले प्रशस्त रोजगारी दिँदै आएको उल्लेख गर्दै यसलाई व्यवस्थित बनाउन आफू कटिबद्ध रहने बताउनुभयो ।
मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताउनुभयो । उहाँले लाइसेन्स कार्ड नेपाल आइसकेको र माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।”
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सृजना गर्दै आएको बताउनुभयो ।
नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेकपा एमालेका भक्तिप्रसाद गौतम, नेपाल किसान महासङ्घका सचिव भरतप्रसाद फुयाँल, सङ्घका अध्यक्ष रामचन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकी लगायतले अनुमति पत्रमा देखिएका समस्याहरूलाई समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
महाधिवेशनमा देशभर एक हजार पाँच सय व्यवसायीका तीन सय ५० जना प्रतिनिधि सहभागी छन् । देशभर दुई हजार ड्राईभिङ्ग स्कुल रहेको तथ्याङ्क छ ।