चितवन । जिल्ला खेलकुद बिकास समिति चितवनले पत्रकार सुशिल पन्तलाई सम्मान गरेको छ ।
समितिले आज (शुक्रबार) बाट सुरु भएको १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा खेल पत्रकार र खेलाडीहरुलाई सम्मान गरेको हो ।
समितिले पत्रकारिताको माध्यमबाट चितवनको खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै खेल पत्रकार सुशिल पन्तलाई सम्मान गरेको हो । चितवनको पहिलो रेडियो सिनर्जी एफएममा कार्यरत पन्त खेलकुद पत्रकार मञ्च चितवनका कार्यसमिति सदस्य हुन् ।
यस्तै सातौं दक्षिण एसियाली कराँते प्रतियोगिताका पदक विजेता खेलाडीहरु पनि सम्मानित भएका छन् । समितिले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल पार्वती गुरुङ र रजत पदक विजेता निक्षा थापा मगरलाई नगदसहित सम्मान गरेको हो ।
पार्वतीले २१ वर्ष मुनी ४५ केजी तौल समूहमा नेपालका लागि स्वर्ण पदक जित्न सफल भएकी थिईन् । यस्तै निक्षाले २१ वर्ष मुनी ४० केजी तौल समूहमा रजत पदक जितेकी थिईन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद ईश्वर सापकोटा ‘सुमन’, खेलकुद बिकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङलगायतले सम्मान गरेका हुन् ।