चितवन । चितवनमा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता पुष २७ गतेदेखि हुने भएको छ ।
चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन २७ गते बिहान ११ बजे भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले गर्नुहुने संघका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार प्रतियोगिताको खेलहरु भरतपुर ५ स्थित खेल मैदानमा हुनेछ । २७ र २८ गते दुई दिन चल्ने प्रतियोगितामा ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चितवनका सातै पालिकाबाट सात सय १४ छात्र र समान संख्यामा छात्रा गरी एक हजार ४२८ खेलाडीहरु सहभागी हुनेछन् ।
सहभागी खेलाडीहरुले एथ्लेटिक्स, भलिवल, कबड्डी, कराते र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछन् । एथ्लेटिक्समा छात्र छात्रा एक सय मिटर, दुई सय, चार सय, आठ सय, एक हजार ५०० र तीन किलोमिटर दौड हुनेछ । यस्तै चार गुणा सय र चार गुणा चार सय मिटर रिले पनि हुनेछ ।
छात्र छात्रा हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, र सटफुट हुनेछ । कराँतेमा छात्र ४०, ४७, ५२, ५७ र ६२ केजी मुनी तथा काता हुनेछ । छात्रातर्फ ४०, ४५, ५०, ५५ र ६० केजी मुनी तथा काता हुनेछ ।
तेक्वान्दोमा छात्रतर्फ ४५, ४८, ५१ ५५ र ५९ केजी मुनी तौल समूह र एकल पुम्से तथा छात्रातर्फ ४२, ४४, ४६, ४९ र ५२ केजी मुनी तौल समूह र एकल पुम्से हुनेछ । यस्तै उसु तर्फ छात्र छात्राको थाओलु तथा सान्सौ पनि हुनेछ ।