चितवन । होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज चौँथो दिन हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने भएका छन् ।
होटल व्यवसायी संघका सचिव कृष्ण महतोका अनुसार आज सुवोध गौतम, प्रजापती पराजुली, ढाकाराम पौडेल, तारा थापा लगायत स्थानीय कलाकारहरुले प्रस्तुती दिने छन् । फुड फेस्टिबलमा हिजो राति द स्याडोज व्याण्डले प्रस्तुती दिएको थियो । स्याडोजको प्रस्तुतीमा हजारौँ दर्शकले साथ दिए ।
फुड फेस्टिबलको चौँथो दिनसम्म दर्शकहरुले उत्साहजनक सहभागीता जनाएको सचिव महतोले जानकारी दिए । ‘दर्शकहरुको राम्रो साथ पाइरहेका छौँ । ३०० रुपैयाँको टिकट काटेर पनि हजारौँ दर्शकले फुड फेस्टिबल र सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभयो । आजदेखि टिकट छैन । प्रवेश निःशुल्क भएपछि झन् धेरै जना आउने अपेक्षा गरेका छौँ’, उनले भने ।
आज र भोलि प्रवेश निःशुल्क रहेकोले झन् धेरै दर्शक आउने अपेक्षा गरिएको उनले बताए । फुड फेस्टिबल भोलि (बुधबार) सम्पन्न हुने छ । बुधवार अनु चौधरी, सुप्रिम मल्ल, कर्ण गिरी र भुवन प्यासी लगायतकाका कलाकारहरुले प्रस्तुती दिने छन् । फुड फेस्टिबलमा ३९ वटा स्टल रहेका छन् । करिब पाँच करोड भन्दा माथीको कारोबार हुने अपेक्षा गरिएको फुड फेस्टिबलमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।