चितवन । होटल व्यवसायी सङ्घ चितवनको आयोजनामा आजदेखि रैथाने फुड फेस्टिबल सुरु भएको छ । फेस्टिबलको भरतपुर महानगरपालिका उपप्रमुख चित्रशेन अधिकारीले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
रैथाने फुड फेस्टिबलले सुस्ताएको पर्यटन व्यवसायलाई ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै उपप्रमुख अधिकारीले भन्नुभयो, “पर्यटन व्यवसायका लागि रैथाने खाना महत्त्वपूर्ण भूमिका हुने गर्दछ ।” स्थानीय परिकारप्रति आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको उहाँले बताउनुभयो । यस फेस्टिबलले भरतपुर भ्रमण वर्ष मनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
यही पुस १८ गतेसम्म चल्ने रैथाने फुड फेस्टिबल २०८० मा विभिन्न प्रकारका खानाका परिकारको संरक्षण, प्रवर्द्धन र सम्वर्द्धन गर्ने उद्देश्य लिइएको छ । सङ्घका अध्यक्ष लोकनाथ भट्टले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै पर्यटन तथा होटल व्यवसायको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, च्याम्बर अफ कर्मश चितवनका अध्यक्ष गोपाल भट्टराईलगायतले मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।
नारायणगढको क्याम्पाचौरमा सुरु भएको फेस्टिबलमा ३९ वटा व्यापारिक रहेका छन् । स्टलमा स्थानीय रैथाने खाने कुरा थारु खाना, नेवारी खाना, शुद्ध नेपाली खाना, थकाली खाना, शाकाहारी भोजनालय, चितवनको तास, लोकल कुखुराको सेकुवा, लोकल हाँस, माछाका परिकार पाइने छ । फेस्टिबलमा स्थानीय तथा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति देखाउने छन् ।
फुड फेस्टिबलमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । सो क्रममा रु पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ । रासस