रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी तीब्र पारिएको छ ।
रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा यस बर्ष कृषि उत्पादनलाई प्राथमिकता दिईने भएको छ । संघले आज शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो ।
विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिनुभयो ।
यसपटक कृषि उत्पादनलाई प्राथमिकता दिई केरालाई प्रर्वद्धन गर्न लागिएको छ । ‘चितवनमा केराको उत्पादन पनि राम्रो छ, माग र बजार पनि राम्रो छ । उहांँले भन्नुभयो , केराखेती तर्फ आकर्षण गर्न केराको परिकारलाई जोड दिन लागिएको हो ।’ विगतका बर्षहरुमा पनि केराको ममः, केराको पकौडा चिप्स ,बुंगोको अचार लगायतका परिकारले अवलोकन कर्ताको ध्यान खिचेकाले ‘केरा एक परिकार अनेक’ भन्ने मुल नाराका साथ केरालाई प्रर्वद्धन गर्न लागिएको उहांँको भनाई छ ।
कोरोना महामारीको कारण सिर्जित स्वास्थ्य र आर्थिक संकटबाट तंग्रिन नपाउंँदै देशमा सुरु भएको चरम आर्थिक मन्दीले देशको औद्योगिक एबं व्यवसायिक क्षेत्र अभुतपूर्व संकटबाट गुज्रिरहेको भन्दै अध्यक्ष गिरीले महोत्सव मार्फत उद्योग, कृषि र पर्यटन मार्फत आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव गरिएको बताउनु भयो । महोत्सव २०८० मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।
देशकै तेश्रो पर्यटकीय गन्तव्य स्थल चितवन सौराहाको मुलद्धार रत्ननगरमा हुने यस महोत्सवले विशेष सामाजिक एवं सांस्कृतिक महत्व बोकेको भन्दै अध्यक्ष गिरीले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबद्र्धनलाई प्रोत्साहन गर्नुका साथै उद्योग एवं व्यापार प्रवद्र्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शन, प्रवद्र्धन, प्रचार प्रसारनै महोत्सवको उद्धेश्य रहेको बताउनुु भयो ।
यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।
महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयां प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा उत्पादित अन्नवाली मकैवाली, ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सवमा प्रदर्शन र बजारीकरणको व्यवस्था गरिने उहांँले जानकारी दिनुभयो । चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सव माघ ८ गतेसम्म चल्नेछ ।