चितवन । नारायणगढको क्याम्पाचौरमा रैथाने फेष्टिबल हुने भएको छ । रैथाने खानाको प्रर्वद्धन गर्ने र चितवनको आर्थिक गतिविधि चलायमान गर्ने उद्धेश्यसहित फुड फेष्टिबल हुने भएको हो । पुष १४ देखि सञ्चालन हुने महोत्सबको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था होटल व्यवसायी चितवनले आज नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२४ तथा तमु ल्होसारको अवसरमा पुस १४ गतेदेखि १८ गतेसम्म फुड फेस्टिबल हुन लागेको हो । फुड फेस्टिबलमा रैथाने कोदो, गुन्द्रुक, फापर, थारु खाना, नेवारी खाना,थकाली खाना, चितवनको तास लगायतका परिकार गरी साना ठुला गरी ३९ वटा स्टल रहनेछन् । जसमा ३४ साधारण र ५ वटा विशेष स्टल रहनेछ फेष्टिबल संयोजक जनक पौडेलले जानकारी दिए ।
उनका अनुसार साधारण स्टललाई २० हजार र विशेष स्टललाई ४० हजार रुपैयाँ शुल्क राखिएको छ । महोत्सवमा पांँच करोड भन्दा बढीको कारोबार हुने र ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक पौडेलको भनाई छ ।
फुड फेस्टिबलमा रैथाने खानेकुरालाई प्राथमिकता दिनुका साथैे विविध सांस्कृतिक कार्यक्रमहरु पनि हुने संघका अध्यक्ष लोकनाथ भट्टले जानकारी दिए । दर्शकलाई थप आकर्षण गर्न नेपाली कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्न सांगितिक कार्यक्रम राखिएको छ ।
भट्टका अनुसार फुड फेस्टिबलमा पशुपती शर्मा, प्रिती आले, अनु चौधरी, हास्य कलाकार सुवोध गौतम, सुप्रिम मल्ल ठकुरी, कर्णराज गिरी, प्रजापती पराजुली, स्वप्न सुमन, ढाकाराम पौडेल, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान चितवनका कलाकारहरु लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पुष १५ र १६ गते प्रति व्यक्ति ३०० को टिकट शुल्क राखिएको छ ।
शिथिल रहेको आर्थिक गतिविधि र पर्यटनलाई उकास्ने उद्धेश्यसहित फुड फेष्टिबलको आयोजना गरिएको आयोजकको जानकारी दिएको छ ।
फुड फेस्टिबलको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि र सहप्रायोजकमा नेपाल लिक्वर्स प्रालि रहेको छ भने हस्पिटालिटी पार्टनरमा होटल ह्यापी होम र ग्यालेक्सी गार्डेन रिर्सोट रहेका छन् । वल्र्डलिंक कम्युनिकेशनले फुड फेस्टिबलमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।