चितवन । भरतपुर महानगरपालिका वडा नं–३ ले विपन्न नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
चिसो मौसममा विपन्न नागरिकलाई न्यानो कपडा आवश्यक परेपछि वडा नं–३ ले न्यानो कपडा वितरण गरेको हो । वडा नं–३ का वडाध्यक्ष विकास थापाले वडाका ८० घरपरिवारलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गरिएको जानकारी दिनुभयो ।
‘विपन्न, दलित, अपाङ्गता, आर्थिक अवस्था ज्यादै कमजोर भएका परिवार यसबाट लाभान्वित भएका छन्’, वडाध्यक्ष थापाले भन्नुभयो, ‘वडाको दुई लाख रूपैयाँको बजेटबाट विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।’ उहांँका अनुसार वडाले विकास निर्माणका अलावा ज्येष्ठ नागरिक सम्मान, वातावरण संरक्षण तथा सरसफाइ, सीपमूलक तालिम र संस्कृति जगेर्नालगायतको क्षेत्रमा पनि बजेट विनियोजन गरेको छ ।
वडाध्यक्ष थापाले भन्नुभयो , ‘जनस्तरका कामहरुलाई पनि वडाले त्यति नै बढी प्राथमिकता दिएर अगाडि बढाइरहेको छ ।’ गत वर्ष पनि वडाले विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको थियो । विपन्न नागरिकहरुका लागि सहयोग पुग्ने अन्य कार्यक्रमहरु वडाले अगाडि बढाउँदै लैजाने उहांँले जानकारी दिनुभयो ।
भरतपुर–३ नम्बर वडाबाट नागरिकता लिएको र यस वडाको स्थायी बासिन्दा भएको विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको वडा सदस्य माधव अर्यालले बताउनु भयो । ‘न्यानो कपडासमेत खरिद गर्न नसक्ने, मुस्किलले दुई छाक खानमात्रै पुग्ने घरपरिवार नै छनोटमा परेका थिए ।’ उहांँले भन्नुभयो ।