चितवन । बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह भरतपुरमा सुरु भएको छ । नेपाल सितोरियो कराते संघको आयोजना र नेपाल सितोरियो कराते संघ बागमती प्रदेशको व्यवस्थापनमा भरतपुर कभर्ड हलमा आज ९सोमबार० देखि कार्यक्रम सुरु भएको हो । कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
कार्यक्रमको बागमती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री महर्जनले खेललाई पेशाको रुपमा अपनाउँँदै जीवनयापन गर्न नसक्दा खेलाडीहरु विदेशिने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे । भविष्य निर्माणका लागि विदेशिरहेका खेलाडीहरुलाई देशमै रोक्ने अवस्था सृजना गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।
युवा र खेलाडीहरु देशको भविष्य भएको भन्दै उनले सरकारले उनीहरुको जीवनसँग खेलवाड गर्न नहुने तर्क गरे । यस्तै उनले करातेले खेलाडीहरु अनुशासन सिकाउने भन्दै यस खेलको प्रवद्धनमा थप जोड दिनुपर्ने बताए ।
मन्त्री महर्जनले कराते संघ चितवनको भवन स्तरोन्नतिका लागि प्रदेशको आगामी बजेटमा पहल गर्ने प्रतिवद्धता जनाए । उनले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री महर्जनले आज नै संघको भवनको स्थलगत अवलोकन समेत गरेका थिए ।
तीन दिनसम्म चल्ने दिक्षान्त समारोहमा बागमती प्रदेशका १२ जिल्लाबाट करिब २५० खेलाडीहरु सहभागी छन् । उनीहरुलाई खेलको नियम, आत्मरक्षा सम्बन्धि प्रशिक्षण दिईनेछ । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका मुख्य प्रशिक्षक तुलसीकुमार महर्जनले प्रशिक्षण दिने सितोरियो कराते संघ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिए ।
अन्तिम दिन सहभागीहरुको परिक्षा लिएर उनीहरुलाई दिक्षित गरिनेछ । सोही अनुसार उनीहरुलाई फर्स्ट डन, सेकेन्ड डन र थर्ड डनबाट दिक्षित गरिनेछ । कार्यक्रममा भरतपुर १० वडाध्यक्ष परमेश्वर खनाल, ४ का वडाध्यक्ष अर्पण पोखरेल, चितवन जिल्ला खेलकुद बिकास समिति सदस्य कल्पना पौडेल, सितोरियो कराते संघ भरतपुर महानगर समिति अध्यक्ष राजन कार्की लगायतको उपस्थिति रहेको थियो ।