भरतपुर । चितवनमा कोरोना संक्रमणले उग्ररुप लिईरहेको बेला जारी निशेधाज्ञाको अवज्ञा गर्दै सयौं नेता तथा कार्यकताको सहभागितामा वडा भेलाको आयोजना गरिएको छ । महानगर प्रमुख स्वयं सहभागिता सहित आज माओवादी केन्द्रले भरतपुर महानगर वडा नम्बर १ को पार्टी भेला गरी वडा कमिटी पुर्नगठन सहित पार्टी प्रवेश कार्यक्रम गरेको हो । भीड जम्मा गरेर कार्यक्रम सञ्चालन गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना शुरु भएको छ । महानगर प्रमुख रेनु दाहालले सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटसमा यमलाल खनालले टिप्पणी दिँदै सोधेका छन्, ‘भेलामा मास्क र सामाजिक दूरीको पालना गरिएको देखिएन । सभा, गोष्ठी नगर्नु भन्ने प्रशासनको आदेशको पालना भएन किन ?’यस्तै अर्का विष्णु न्यौपानेले ‘यस्तो जमघटले कोरोना सर्दैन र बजार थुनेर’ भन्ने प्रतिक्रिया लेखेका छन् ।
‘अरुलाई निषेधाज्ञा जारी गरेर आफूले भेला गर्नु त्यति उपयुक्त लागेन । अहिलेको अवस्थामा भेला होइन, जनताको जीउ ज्यानको लागि सोचौँ । यदि यसरी भेला गर्न मिल्ने भए किन व्यवसायहरुलाई हप्तामा चार दिन बन्द गराउनु भएको ?’पुस्कर खड्काले लेखेका छन ।
‘यस्तै, विष्णुहरि आचार्य आक्रोश पोख्दै लेख्छन ‘यस्तो पो हो त मेयर भन्या व्यापार व्यवसाय गर्नेलाई बन्द गर भन्दै आफूचाहिँ पार्टी भेला, भनेपछि चितवनमा कोरोना सकियो ?’
यस्ता सयौं टिप्पणी र आलोचनाले दाहालको स्टाटसको जवाफले भरिएको छ । तर हालसम्म पनि उक्त स्टाटस हटाईएको छैन ।
सङ्क्रमितको संख्याले उच्च विन्दु पार गरिसकेको अवस्थामा जिम्मेवार राजनीतिक दलहरु नै पार्टी भेला तथा भीडभाड गरी निशेधाज्ञाको अवज्ञा गरेका हुन्। ।
महानगर प्रमुख रेनु दाहाल स्वयं सहभागी भई गरिएको भेलामा सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षा मापदण्ड नै पालना नगरी प्रशासन कार्यालयको आदेशको समेत उल्लंघन गरिएको छ । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन, निस्कनै परे अनिवार्यरुपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा भीडभाड नगर्न÷नगराउन आदेश जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा भौतिकरुपमा उपस्थित भई हुने सबै प्रकारका सभा–सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालिम, जात्रा, महोत्सव सञ्चालन गर्न नपाइने कार्य स्पष्टरूपमा उल्लेख गरिएको छ । तर प्रशासनको आदेशको वेवास्ता गर्दै भीड जम्मा गरेर माओवादी केन्द्रले भेलाको आयोजना गरेको हो ।