भरतपुर । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा भोलि (शनिबार) देखि हुने नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटको तयारी पूरा भएको छ ।
स्मेल हेभनको आयोजनामा ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ हुन लागेको नवौं संस्करणको एथ्लेटिक्स मिटको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बिहान ११ बजे उद्घाटन गर्नुहुनेछ । पौष २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका करिब ४० संस्थागत विद्यालय सहभागी हुनेछन् ।
सहभागी खेलाडीहरुले बिभिन्न १२ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ एक सय, दुई सय, चार सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछन् । यस्तै चार गुणा सय मिटर रिले, चार गुणाचार सय मिटर रिले, सट पुट, लङ्ग जम्प, ट्रिपल जम्प र टग अफ वार पनि हुने विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै महिलातर्फ एक सय, दुई सय, चार सय, पाँच सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछ । यस्तै चार गुणा सय मिटर रिले, चार गुणा चार सय मिटर, सट पुट, लङ्ग जम्प, कबड्डी र बास्केटबल हुनेछ । यी खेलहरुमा महिला र पुरुष दुबैतर्फ १२/१२ स्वर्ण, १२/१२ रजत र १२/१२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
न्यौपानेका अनुसार विद्यालयले हरेक दुई(दुई वर्षमा यस प्रतियोगिया आयोजना गर्दै आएको छ । यो चितवनमा विद्यलाय स्तरमा हुने खेलकुद प्रतियोगिताकै नमूना भएको समेत उहाँले दाबी गर्नुभयो ।