चितवन – काठमाडौं र ललितपुर बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेट महिला छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
समूह चरणका खेलबाट अंक तालिको शिर्ष दुईमा रहँदै काठमाडौं र ललितपुरले उपाधि भिडन्त पक्का गरेका हुन् । समूह चरणमा तिनै खेल जितेको काठमाडौं ६ अंकसहित शिर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । उता तीन खेलमा दुई जित निकालेको ललितपुर समूह उपविजेताको रुपमा फाइनलमा स्थान बनाउन सफल भयो । एक खेल जितेको भक्तपुर तेस्रो हुँदै समूह चरणबाटै बाहिरिदा चितवन अंकबिहिन भयो ।
प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा काठमाडौंले चितवनलाई पराजित गर्दै समूह विजेता बन्यो । भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा भएको खेलमा काठमाडौंले चितवनविरुद्ध १०६ रनको विशाल जित हात पार्यो ।
काठमाडौंले दिएको १४५ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा ६ विकेटको क्षतिमा ३८ रनमै समेटियो । चितवनका लागि हेलिशा गुरुङले १० बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् । काठमाडौंकी बिपाशा शाहीले २ तथा प्रकृति पोख्रेल र अश्मिना कर्माचार्यले १-१ विकेट हात पारिन् ।
त्यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । काठमाडौंका लागि अस्मिता खरेलले ३७ तथा यसोदा बिष्टले २२ रन जोडिन् । करिश्मा गुरुङ २९ रनमा नटआउट रहिन् । चितवनकी लक्ष्मीमाया रुम्बा, सलिना सिलवाल र खिमकुमारी लामाले १-१ विकेट लिईन् । काठमाडौंकी अस्मिता खरेल प्लेयर अफ दि म्याच भईन् ।
आजकै दोस्रो खेलमा ललितपुरले भक्तपुरलाई ६ विकेटले पाखा लगायो । भक्तपुरले दिएको ५४ रनको लक्ष्य ललितपुरले ७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि सोनी पाख्रिनले १९ बलमा नटआउट २२ रन बनाईन् । भक्तपुरकी पूजा साउदले २ विकेट लिईन् ।
त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको भक्तपुरले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर ५३ रन मात्रै बनाउन सक्यो । उसका लागि अनुशा रोकाले १० बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन समेत बनाउन सकेनन् । भक्तपुरलाई सस्तैमा समेट्न सोनी पाख्रिन र यशु पाण्डेले समान २-२ विकेट लिईन् । १९ बलमा नटआउट २२ रन र २ विकेट लिएकी सोनी प्लेयर अफ दि म्याच भईन् । उपाधि भिडन्त सोमबार हुनेछ ।