चितवन । तिहार नजिकिएसंँगै चितवनमा सयपत्री फूलको माग पनि बढ्दै गएको छ ।
मागसंँगै मुल्यमा एकरुपता कायम गर्न सबै किसान तथा व्यवसायीलाई आग्रह गरिएको छ । फ्लोरिकल्चर एशोसियसन, चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी उपभोक्ता नठगिउन र किसानलाई मर्का नपरोस भन्ने हेतुले मुल्यमा एकरुपता कायम गर्न अपिल गरेको हो ।
चितवनमा सयपत्री फूल र मखमली फूलको मालाको उत्पादन बृद्धिसंँगै उपभोग पनि बढ्ने तिहारमा खुद्रा मुल्य प्रति माला सय रुपैंया कायम गरिएको एशोसियनले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एशोसियसनका अध्यक्ष तेजेन्द्र सापकोटाले गत बर्ष मालामा मनपरी मुल्य राखेर बिक्री बितरण गरिएको कारण यसलाई रोक्न एउटै यसपटकको तिहारको लागि एउटै मुल्य राख्न लागिएको बताउनु भयो । ‘गतसाल सयपत्री फूल र मालाको हाहाकार भयो । अहिले उत्पादन संँगै उपभोग पनि बढ्ने अनुमान गरेका छौ , उहांँले भन्नुभयो , अहिले हामीले सयपत्री फूलको खुद्रा मुल्य अधिकतम सय रुपैंया लागु गरेका छौं ।’
थोक मुल्य खरीद बिक्रीमा भने किसान र बिक्रेताको आपसी समझदारीमा गर्न सकिने उहांँको भनाई छ । एशोसियशनका सचिव सुलभ श्रेष्ठले चितवन अहिले सयपत्री फूलमा आत्मनिर्भर रहेकोले भारतीय माला बिक्री वितरणमा रोक लगाईएको बताउनु भयो । ‘अहिले तिहारमा चितवनमा हाम्रो मालाको माग ४ लाखको हाराहारीमा छ , उहांँले भन्नुभयो , तीनलाख बढी माला यहीं उत्पादन भएको छ ।’
यहांँका फूलमाला समय अनुसार अन्य जिल्लामा जाने गरेपनि तिहारको बेलामा अन्य जिल्लाबाट नेपाली फूल मगाएर माग परिपुर्ती गरिने श्रेष्ठको भनाई छ । हाल चितवनका केही पालिकाले प्लाष्टिकजन्य माला र भारतीय फूल आयातमा समेत रोक लगाएकोले किसानका माला खेर नजाने श्रेष्ठले बताउनु भयो ।
चितवनमा हाल ५० विघामा सयपत्री फूल लगाईएको छ । एक कठ्ठा क्षेत्रफलमा औसत ३ हजार पांँचसय सम्म माला तयार हुने गरेको छ । चितवनमा सयपत्री फूलको व्यवसायिक खेती गर्ने किसान सयजनाको हाराहारीमा छन । मखमली फूलको व्यवसायिक खेती भने चितवनमा नभएको एशोसियसनले जनाएको छ ।