चितवन । जिल्लामा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । आज जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो ।
मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उहाँलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको नागरिकता ऐनको पहिलो संशोधन र नियमावलीको तेस्रो संशोधनअनुसार नागरिकता दिइएको हो ।
उपाध्याय परिमार्जित ऐनअनुसार नागरिकता लिने जिल्लामा पहिलो व्यक्ति भएको उहाँले बताउनुभयो । उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गर्नुभएको हो । थापाले ऐनमा भएको संशोधनले नागरिकताको समस्या समाधान भएको बताउनुभयो । स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारबाही हुने उहाँले बताउनुभयो । कानुनअनुसार कैद र जरिवानाको व्यवस्था भएको उहाँले जानकारी दिनुभयो ।
श्रीमान् १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको आमा मायादेवीले बताउनुभयो । उहाँले भन्नुभयो, “छोरो जन्मिएको एक वर्षपछि छोराको बुबा हराउनुभएको हो । अहिलेसम्म सम्पर्कमा आउनुभएन ।” छोराले आफ्नो नामबाट नागरिकता पाएपछि आफू खुसी भएको र जिम्मेवारी थपिएको महसुस गरेको उहाँले बताउनुभयो । रासस