सुनसरी ।पूर्व पश्चिम राजमार्ग अन्तरर्गत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गएको वर्षदेखि बन्द छ । पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो ।
त्यस्तै, इटहरी ६ विपि चौक स्थित सगुन होटल यो वर्ष देखा परेको नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना संक्रमणका कारण बन्द हुन पुगेको छ । लगानी उठाउनै मुस्किल परेपछि सगुन होटल पनि बन्द हुन पुगेको हो ।
यो वर्ष कोरोना संक्रमणकै कारण इटहरीमा साना तथा ठूला गरी ९ ओटा होटलहरू बन्द भएको छ । यस वर्ष देखा परेको दोस्रो चरणको कोरोनाबाट साना लगानीका होटलहरू धेरै प्रभावित हुन पुगेको होटल व्यवसाय संघ इटहरीले जानकारी दिएको छ । इटहरीमा गएको वैशाखदेखि साउन सम्ममा ६ ओटा साना र ३ ठूला गरि ९ ओटा होटलहरू बन्द भएको संघले जानकारी दिएको छ ।
सरकारले जोखिमको बेला व्यवसायीको हकहितका लागि लाभ हुने र राहतको प्याकेज ल्याउन नसकेपछि लाखौ लगानी गरी खोलिएका होटलहरू धमाधम बन्द हुने अवस्थामा पुगेको होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउँछन् । होटलहरूलाई विपतको बेला सरकारले ठोस नीति ल्याउनुपर्ने महतोको भनाइ छ ।
होटल व्यवसायसँगै पछिल्लो समय कोरोनाबाट नराम्रोसँग प्रभावित बनेको पर्यटन व्यवसायीहरूको पीडा पनि उस्तै देखिएको छ । सरकारले कोरोना त्रास देखाउदै अन्य क्षेत्रलाइ खुला गरिरहँदा पर्यटन क्षेत्रलाइ सञ्चालनमा रोक लगाउदै आएको छ । पर्यटन व्यवसायीहरुको करोडौ रुपैयाँको लगानी जोखिममा परेको छ ।
आन्तरिक तथा बाह्य पर्यटहरूका लागि आकर्षक प्याकेजहरू अघि सारेर स्थापना भएका करोडौ रुपैयाँको लगानी गरिएका पर्यटकीय क्षेत्रहरू सिजनको बेला पनि सुनसान हुन पुगेका छन् । बजार व्यवसाय खोल्न अनुमति दिए जस्तै पर्यटकीय क्षेत्रहरूलाई पनि सरकारले मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरूको भनाइ छ ।
करीब ३० करोडको लगानीमा हालै मात्र स्थापना भएको इटहरी २ स्थित इपिल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा आउन नपाउँदै कोरोनाको कहरमा परेपछि करोडौ रुपैयाँको लगानी जोखिममा परेको सञ्चालक भिम पौडेल बताउँछन् । नेपालकै नमूना पार्क भनेर स्थापना गरेपनि सञ्चालन हुन नपाएपछि करोडौ रुपैयाँ डुब्ने खतरामा रहेको उनले बताए ।
अन्य व्यवसाय सुचारू भइरहदा पर्यटन क्षेत्रलाइ पनि स्वास्थ्य मापदण्ड बनाएर सञ्चालन गर्न पाउनु पर्ने पर्यटन व्यवसायीहरूको माग छ । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले जारी गरेको लकडाउन खुकुलो हुँदै गएपनि पर्यटन क्षेत्रलाइ अझै बन्दी बनाउँदा व्यवसायीहरू मार्कामा परेको पर्यटनविद् तथा होटल प्रिमियर एण्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् ।
सरकारले सबै नागरिकहरूलाई खोपको व्यवस्था गरी पर्यटन क्षेत्रलाइ सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायीहरूलाइ तत्काल राहतको प्याकेज ल्याइनुपर्ने तालतलैया संरक्षण समितिका अध्यक्ष विरबहादुर मगरको भनाइ छ ।