चितवन । नेपाली कांँग्रेस चितवनको जिल्ला सम्मेलन भोलिदेखि भरतपुरमा शुरुहुने भएको छ । भदौ २३ र २४ गते हुने उक्त सम्मेलनमा नेपाली कांँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला, कांँग्रेस महामन्त्री गगन थापा , विश्व प्रकाश लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जिल्ला कार्यसमिति चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यस बारे जानकारी दिएको हो ।
सो अवसरमा बोल्दै जिल्ला सभापति राजेश्वर खनालले सम्मेलनको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । सम्मेलनलाई उद्धघाटन सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरिएको छ । जसअनुसार पहिलो दिन कार्यक्रमको उद्धघाटन र दोस्रो दिन विपी शान्तिनगर वनमा विपी कोइरालाको प्रतिमा अनावरण गरिने कार्यक्रम रहेको खनालले बताउनु भयो ।
सम्मेलनमा जिल्ला सभापति खनालले पार्टीको भावी नीति तथा कार्यक्रम सम्बन्धी प्रतिवेदन,सचिव ध्रुव पोख्रेलबाट सांगठनिक गतिविधि सम्बन्धी प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यष पवित्रा केसी बाट गरिने कार्यक्रम रहेको छ । सम्मेलनलाई सफल पार्न विभिन्न उप समिति समेत निर्माण गरिएको सभापति खनालले बताउनु भयो ।
नेपाली कांँग्रेसलाई बदलिंँदो परिवेशको थप चुनौति सामना गर्न सक्ने सक्षम र गतिशिल संगठनको रुपमा विकास र विस्तार गर्नको लागि विभिन्न सांगठनिक , सामाजिक, राजनीतिक तथा रचनात्मक कार्यक्रमहरु प्रस्ताव गरिएको उहांँको भनाई छ ।
प्रविधिमैत्री सांगठनिक संरचना निर्माण गरी पार्टी नागरिकलाई एकैसाथ सूचना सञ्जालमा एकीकृत गर्ने , चितवन जिल्ला घर भई अन्यत्र बसोबास गर्ने पार्टी सदस्यहरुका लागि जिल्ला फर्क अभियान सञ्चालन गर्ने , बैदेशिक रोजगारीमा रहेका नागरिकहरुलाई वैदेशिक जनसम्पर्क समिति मार्फत एकीकृत गर्ने, पार्टीको केन्द्रिकृत गतिविधिलाई विकेन्द्रिकृत गर्दै रचनात्मक कार्यसहित , हराभरा पालिका हाम्रो अभियान अन्तर्गत जिल्लाका सातवटै बाटिका, उद्यान पार्क र एक घर एक वृक्षारोपण, युवा तथा महिला जागरण अभियान लगायतका कार्यक्रमहरु प्रस्तुत गरिने सभापति खनालले जानकारी दिनुभयो ।
सम्मेलनमा पार्टी, समाजमा योगदान पुर्याएका विभिन्न विधाका ७० जना भन्दा बढीलाई सम्मान समेत गरिने नेपाली कांँग्रेस चितवनले जानकारी दिएको छ ।