काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ६८ हजार ४७४ जना आवेदकहरुले १० कित्ताका दरले प्राप्त गरेका छन् भने तीमध्ये छ जनाले थप एक कित्ता अर्थात् बढीमा ११ कित्ता शेयर हात पारेका छन् ।
कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाको आवेदन परेकोमा रितपूर्वक नभएको भन्दै २ हजार ८४३ जनाको आवेदन रद्ध भएको विक्री प्रबन्धकले बताएको छ ।
योग्य २० लाख ६५ हजार १२४ जनालाई बाँडफाँटमा सहभागी गराई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याईएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
कुल कित्तामध्यबाट २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीले २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । आवेदन दिएको ३ बर्ष ९ महिनामा बल्ल आईपीओ निष्कासनका लागि अनुमति पाएको हो ।
आयोजना प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।
यस कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार कायम भएको छ ।
यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहेको छ ।कम्पनीको आर्थिक वर्ष ०७६/ ७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ ।
आर्थिक वर्ष ०७७/ ७८ सम्म कम्पनीले रू. ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ । प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्म पहिलो शेयर कारोबारका लागि मूल्य तोकिने हुँदा कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९५ दशमलव ९५ देखि रू. २८७ दशमलव २५ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।