चितवन ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता एवं अर्थमन्त्री बहादुर सिं लामाले कांँग्रेस अब एकजुट हुनुपर्ने बेला आएको बताउनु भएको छ ।
मन्त्री लामाले काङ्ग्रेस पुरानो पार्टी भएको र यसको जरा गहिराईसम्म पुगेकाले आन्तरिक मनमुटाव मेटाएर एकता कायम गर्नुपर्ने बताउनु भएको हो ।
नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र नं. ३ क चितवनले सोमबार रामपुरमा आयोजना गरेको प्रदेश सभा सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री लामाले काङ्ग्रेसीहरुले एकता कायम गरी इमान्दारीताका साथ अगाडि बढे कुनै पनि दलले काङ्ग्रेससंग मुकाबिला गर्न नसक्ने बताउनु भएको हो ।
सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली काङ्ग्रेसले राजनीतिक उद्देश्य प्राप्ति गरेको तर त्यसलाई संस्थागत गर्न नसकिएको बताउनु भयो । राजनीतिक उदेश्य त प्राप्त गरेपनि राजनीतिलाई आर्थिक समृद्धितिर अगाडि बढाउनु पर्ने उहांँको तर्क थियो। गाउँ टोलमा बस्ने हरेक क्रियाशील सदस्यले आर्थिक समृद्धितिर ध्यान खिच्नु आजको आवश्यक रहेको प्रष्ट पार्दै, सबैले हातेमालो गरेर साथ दिए त्यो गन्तव्य टाढा नरहेको बताउनु भयो । काङ्ग्रेसको राजनीति समाज केन्द्रित हुनेमा खनालले विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा २००७ सालबाट आजसम्म पार्टीको विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहिदहरुमध्ये सोमबार १२ जना सहिद परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो।
भरतपुर–१७ रामपुरमा आयोजित सम्मेलनमा धर्मध्वज गुरुङ, लालध्वज गुरुङ, इमानसिंह गुरुङ, शम्सेर बहादुर गुरुङ, हस्तवीर गुरुङ, खेमबहादुर गुरुङ, हरिप्रसाद गुरुङ, सर्वसिंह गुरुङ, भरत गुरुङ, बुद्धसिंह रानामगर, गणेश पौडेल र किसन कुमालको परिवारलाई सम्मान गरिएको हो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका माननीय गीता गुरुङ, माया श्रेष्ठ, क्षेत्रीय सभापति लालबहादुर दवाडी निवर्तमान प्रदेशमन्त्री मिलनबाबु श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता प्रदेश सभापति खेमनारायण सापकोटाले गर्नुभएको हो ।