काठमाडौं । आज एक कुशल कलाकार (चित्रकार)को रुपमा परिचित कोजो मार्फोको परिचय कुनै बेला मासु बेच्ने व्यक्तिको थियो । कुनैबेला उनी गाईको मासु बेच्ने काम गर्थे । तर, आज उनी यसैलाई क्यानभासमा सुन्दर रुपमा उतारेर यसको महत्त्वको बारेमा संसारलाई बुझाउने प्रयास गरिरहेका छन् ।
“गाईबाट सभ्यता बन्छ । घानामा हामी उनीहरुबाट खेत जोत्छौं र यदि तपाईसँग २/३ वटा गाईवस्तु छन् भने तपाईंले विवाह गर्न एक सुन्दर महिला पाउनुहुनेछ । भारतका धेरै ठाँउमा गाईलाई भगवानको रुपमा पुजिन्छ,” कोजो गाईको धार्मिक महत्व प्रस्ट पार्छन् ।
घानाको ग्रामीण परिवेशमा जन्मिएर आमा र हजुरआमाको रेखदेखमा हुर्किएका उनी कामको सिलसिलामा न्युयोर्क गएका थिए । जहाँ उनले मासु बेच्ने काम सुरु गरे । यो उनको ईच्छा नभई वाद्यता थियो ।
४१ वर्षिय काजो भन्छन्, “म निराश थिएँ, मलाई मासुको बारेमा थोरै मात्रै ज्ञान थियो । भित्तामा मासु कसरी काट्ने भन्दै सिकाइएको एउटा चित्र थियो । यसका साथै मेरो मालिकले मलाई समात्नु हुन्थ्यो ।”
कुनै बेला गाईको मासु बेच्ने गरे पनि उनको प्रेरणाले उनलाई क्यानभाससम्म डोर्यायो । अहिले उनको कामको प्रशंसा हुन्छ ।
गाईका साथै कोजोको मनको नजिक भएका अर्कोे विषय महिला शक्ति हो । कुनै बच्चालाई हुर्काउन आमाको भूमिकाबारे कोजो राम्रोसँग जानकार छन्, जुन करा उनको पेन्टिङमा पनि चित्रण भएको देखिन्छ ।
कोजोको जन्म घानामा भए पनि उनको पेन्टिङमा बाँकी महाद्धिपहरु पनि झल्किन्छ ।
दार्शनिक अन्दाजमा कोजो भन्छन्, “हामी विभिन्न संस्कृति र विचारधारा भएको समाजमा बस्छौं, जहाँ धेरै दरार छन् । म सबैलाई जोडेर सबैको संस्कृतिलाई प्रदशर्न गर्न चाहान्छु ।”
स्थानीय पुस्तकालयमा पिकासोका पेन्टिङहरु हेरेर विताएका कोजो भन्छन्, “मलाई लाग्थ्यो कि डाक्टर बन्नु पर्ने थियो वा अकाउन्टेन्ट बन्नु पर्ने थियो । तर, म नदी किनारामा बसेर त्यहाँको माटोबाट रंग बनाउने गर्थें ।”
उनको काम गर्ने शैली पनि अरुभन्दा फरक छ । उनी पेपरमा भ्यासलीन लगाउँछन् ताकी त्यसलाई ट्रेसिंग पेपरको रुपमा परिणत गर्न सकुन् । तर आफ्नो जन्मथलोमा रहँदा उनको कामलाई खासै गम्भिर रुपमा नलिएको उनको गुनासो छ ।
एकदिन कोजोले न्यूयोर्कबाट लण्डन जाने मौका पाए र त्यहाँ उनले आफ्नो आन्टिको ग्रोसरी पसलमा काम पाए । सन् २००० तिरको कुरा हो, जब उनको मन चित्रकलाबाट थाकिसकेको थियो तर चाँडै नै उनको चित्रकलाको प्रेरणा फेरि फर्कियो ।
त्यसपछि उनलाई एकल अभिभावकको जीवन–शैलीको बारेमा जान्ने हुटहुटी चल्यो ।
पहाडका महिला (आमा)हरुको बारेमा आफ्नो अनुभव सुनाउँदै कोजो भन्छन्, “पहाडका महिलाहरु सबैभन्दा मेहेनती हुन्छन् । उनीहरुलेनै मलाई हुर्काएका हुन् । नारीवादीले मलाई भन्नुभयो कि जहाँ पुरुषले जिम्मेवारी लिन्छन्, त्यहाँ महिलाहरु पीडित हुनैपर्छ । यद्यपि जहाँबाट म आएको छु, त्यहाँ जिम्मेवारी सधैँ महिलाहरुको हातमा हुन्छ ।” बीबीसी