काठमाडौं । पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउदो सिजन चितवन टाइगर्सबाट खेल्ने भएका छन् । असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने ईपीएलका लागि अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् ।
स्टाइलिस युवा देव्रे हाते ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र ट्वेन्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । २५ वर्षे अजिजलाई भारतका अलराउन्डर युवराज सिंहस“ग पनि तुलना गरिने गरिन्छ ।
अजिजले नेसनल टी २० कपमा असाधरण प्रर्दशन देखाएका थिए, विशेष गरी म्याच फिनिसिङमा उनले विशेष इनिङ्स खेलेका थिए । सिन्धबाट त्यो प्रतियोगितामा खेल्दै उनले ९ खेलमा २ सय २० रन बनाएका थिए, जसमा दुई अर्धशतक छन् । उनको औषत ७३.३३ र स्ट्राइक रेट १५४.९२ थियो । आफुलाई अलराउन्डर साबित गर्नेक्रममा उनले १९ को औषतमा ५ विकेट लिएका थिए । उनको इकोनोमी रेट ८.७६ रहेको थियो ।
उनले आफ्नो पावर हिटिङ क्षमता २०२१ को पाकिस्तान सुपर लिग (पीसीएल) मा देखाएका थिए । कराँची किंग्सबाट खेल्दै अजिजले क्वेटा ग्लाडिएटर्सविरुद्ध १३ बलमा ४५ रन बनाएका थिए । उनले सोक्रममा ज्याक वाल्डरमथलाई एकै ओभरमा ३२ रन प्रहार गरेका थिए । त्यसमा ४ छक्का र एक चौका समावेश थियो । १८ ओभरमा १३६–५ को अवस्थामा रह“दा क“राचीले उनको इनिङ्सपछि २० ओभरमा ६ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । सो खेलमा १४ रनको विजय हात पार्दै क“राती किंग्स प्लेअफमा पुगेको थियो ।
नेसनल टी २० कपमा उनले ४७ बलमा ७२ रन बनाएपछि सिन्धले खाइबर पाखुतन्खवामाथी अन्तिम बलमा विजय हात पारेको थियो । सिन्धलाई अन्तिम ३ बलमा १५ र अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा अजिजले इफ्तिखार अहमदको बलमा छक्का प्रहार गरी सनसनीपूर्ण विजय दिलाएका थिए । सिन्ध ३२–४ को अवस्थामा रहेको समयमा क्रिजमा आएका थिए र टोली थप पतन हुनेक्रममा ७ विकेट गुमाई ३४ रनको स्थितिमा पुगेको थियो । १ सय ३९ रनको विजय लक्ष्य लिएर आएको सिन्धबाट अजिजले अनवर अलीसँग ७७ रनको साझेदारी गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त ईपीएल २०२१ को आयोजना मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत गरिसकेको छ र नेपालको सबैभन्दा ठुलो खेलकुद इभेन्ट आयोजनाका लागि तयार छ ।
“नयाँ सिजनको ईपीएलका लागि डानिसलाई विदेशी खेलाडीको रुपमा भित्राउदा हामी उत्साहित रहेका छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपलाई नया“ आयाम दिने छ,” चितवन टाइगर्सकी अप्रेसन्स डाइरेक्टर विनिता चौधरीले भनिन् ।