काठमाडौँ ।कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई उत्कृष्ट एवं नमूना अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा आज आयोजित चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा उहाँले कृषि अनुसन्धान तथा विकासका लागि मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको कषि अनुसन्धानलाई कृषक र उत्पादनसँग जोड्दै कसरी अगाडि बढने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।” बीउ, प्रविधि तथा नश्ल सुधारका लागि अनुसन्धान पनि गहन हुनुपर्ने उहाँको भनाइ थियो ।
उन्नत खालको बीउ र प्रविधिको प्रयोग नगरी उत्पादन बढाउन नसकिने भएकाले यस विषयमा नार्कको महत्त्वपूर्ण योगदान हुने बताउँदै उहाँले कृषि तथा कृषकको विकास कसरी हुन्छ भन्ने विषयमा नार्कले आफ्नो अनुसन्धानबाट प्रमाणित गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भुसालले बीउ, प्रविधि तथा नश्ल सुधारका लागि भारतको कृषि अनुसन्धानसँग सहकार्यका लागि आइसीएआर तयार रहेको बताउनुभयो ।
नार्कका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले नार्कले गत आवको चौथो त्रैमासिक तथा वार्षिक प्रगतिमा प्रस्तुतीसहित नार्कमा हालसालै सुरु गरिएका सुधारका प्रयास र नार्कको आगामी कार्यदिशाको बारेमा समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा कृषि मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा राजेन्द्र मिश्र, मन्त्रालयकै प्रशासन महाशाखाका सहसचिव मदन भुजेल, कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीलगायतको सहभागिता रहेको थियो । रासस