चितवन – पाकिस्तानका युवा ब्याट्सम्यान डानिश अजिजले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । ईपीएलका लागि अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् ।
स्टाइलिस युवा देव्रे हाते ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र ट्वेन्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । २५ वर्षे अजिजलाई भारतका अलराउन्डर युवराज सिंहसँग पनि तुलना गरिन्छ । अजिजको स्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैली उनका रोल मोडल युवराजको जस्तै छ ।
अजिजले नेसनल टी २० कपमा असाधरण प्रर्दशन देखाएका थिए । म्याच फिनिसिङमा उनले विशेष इनिङ्स खेलेका थिए । सिन्धबाट त्यो प्रतियोगितामा खेल्दै उनले ९ खेलमा दुई अर्धसतकसहित २ सय २० रन बनाएका थिए । उक्त प्रतियोगितामा उनको औषत ७३.३३ र स्ट्राइक रेट १५४.९२ थियो । आफुलाई अलराउन्डर साबित गर्ने क्रममा उनले १९ को औषतमा ५ विकेट लिएका थिए । उनको इकोनोमी रेट ८.७६ रहेको थियो ।
उनले २०२१ को पाकिस्तान सुपर लिग (पीसीएल) मा आफ्नो पावर हिटिङ क्षमता देखाएका थिए । कराँची किंग्सबाट खेल्दै अजिजले क्वेटा ग्लाडिएटर्सविरुद्ध १३ बलमा ४५ रन बनाएका थिए । उनले सोक्रममा ज्याक वाल्डरमथको एकै ओभरमा ४ छक्का र एक चौकासहित ३२ रन प्रहार गरेका थिए । १८ ओभरमा १३६–५ को अवस्थामा रहँदा कराँचीले उनको इनिङ्सपछि २० ओभरमा ६ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । सो खेलमा १४ रनको विजय हात पार्दै कराँची किंग्स प्लेअफमा पुगेको थियो ।
नेसनल टी २० कपमा उनले ४७ बलमा ७२ रन बनाएपछि सिन्धले खाइबर पाखुतन्खवामाथी अन्तिम बलमा विजय हात पारेको थियो । सिन्धलाई अन्तिम ३ बलमा १५ र अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा अजिजले इफ्तिखार अहमदको बलमा छक्का प्रहार गरी सनसनीपूर्ण विजय दिलाएका थिए ।
डानिसलाई भित्राउन पाउँदा चितवन टाइरगर्स थप बलियो बन्ने क्लबकी अप्रेसन्स डाइरटेक्टर विनिता चौधरीको विश्वास छ । ‘डानिसलाई विदेशी खेलाडीको रुपमा भित्राउदा हामी उत्साहित छौं । पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ, विनिताले भनिन्, उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपलाई नयाँ आयाम दिने विश्वास लिएको छु ।’ ईपीएल असोज ९ गते देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । ईपीएल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले समेत मान्यता दिएको छ ।