चितवन । चितवनमा अघिल्ला पटक गरिएको निशेधाज्ञाभन्दा आज राती १२ बजे पछिदेखि गरिने निशेधाज्ञालाई कडा पारिएको छ । चितवनमा दैनिकजसो संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयद्धारा आज आदेश जारी साउन ३२ सम्म निशेधाज्ञा थप गरिएको हो । संक्रमितका दर नघटेमा र जोखिम न्यूनिकरण नभए थप कडाई गर्दै लगिने प्रशासनले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टाराईले जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि थप जोखिम र त्रास बढेकोले निशेधाज्ञा केही कडा पारिएको जानकारी दिए । जारी निशेधाज्ञा आज राती १२ बजे सकिंँदैछ । पछिल्ला समय निशधाज्ञा खुकुलो गर्दै लगिएकोमा थप संक्रमित पनि बढ्दै गएपछि सिसिएमसी (कोभिड १९ संकट व्यवस्थापन केन्द्र) चितवनको सुझाव र सिफारीस अनुसार कडा पार्नुपरेको उनको भनाई छ । उनका अनुसार पछिल्लो समयमा प्रायजसो स्थानमा मानिसहरुले स्वास्थ्य मापदण्डमा लापरवाही तथा वेवास्ता गर्दै गएको पाईएकोले यसलाई न्यूनिकरण गर्दै निशेधाज्ञामा थप कडाई गरिएको हो ।
‘तेस्रो भेरियण्टको जोखिम पनि बढ्यो । संक्रमण र मृत्युदर पनि घटेन , भट्टराईले भने , संक्रमणदर घटेन भने अब थपिने निशेधाज्ञा थप कडा हुन सक्छ ।’ पछिल्लो समय मानिसहरुको गतिविधि र भीड बढ्दै गएकोले भोलिदेखि जारी हुने निशेधाज्ञामा अनुगमन र नियमन पनि गरिने भटट्राइको भनाई छ ।
सरकारबाट मास्क अभियान तथा स्वास्थ्य सचेतनालाई तीब्र पार्दै लगिने निर्देशन अनुसार पनि कडा गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेश अनुसार थप गरिएको निशेधाज्ञामा अत्याबश्यक दैनिक खाद्य बस्तु बिक्री तथा खरीदमा दैनिक निश्चित तालिका र समय निर्धारण गरिएको छ । यसअघि हप्ताको सातै दिन पूर्ण समय खोल्न पाईने आदेश थियो । जारी आदेश अनुसार अन्य उपभोग्य बस्तुका पसलहरु अब आइतबार मंगलबार र बिहिबार मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाइने छ ।
यस्तै कृषिजन्य बस्तु, पशुचौपायका आहारा र दुध डेरी खुल्ने समयलाई पनि केही कडा पार्दै निश्चित समय निर्धारण गरिएको छ । यस्ता बिक्री केन्द्र तथा पसलको हकमा बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने आदेशमा उल्लेख छ । यस्तै रेष्टुरेण्ट , खाजा पसल र मिठाई पसलको हकमा दैनिक मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाईने र अत्यावश्यक सवारी साधन बाहेक नीजि तथा सार्वजनिक साधनको हकमा जोर विजोर प्रणाली लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । अन्य बैंक , वित्तिय संस्था तथा सरकारी कार्यालयको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाईने जारी आदेशमा जनाइएको छ । आदेशको उल्लंघन गरेको पाईएमा प्रचलित कानुन अनुसार कारबाही गरिने समेत आदेशमा उल्लेख छ ।