चितवन । भरतपुर महानगरपालिकाले शनिबार नारायणगढ बजारमा रहेका पशु बधशालाहरुको स्थलगत अनुगमन गरेको छ । बजारको मध्य भागमा बधशालाहरु निर्माण गरि पशु चौपाया काट्ने गरेको र त्यसको प्रत्यक्ष असर स्थानीय नागरिक र प्रकृतिमा परेको भन्ने व्यापक जनगुनासो आएपछि भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो ।
भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा शनिबार बिहान ३ बजे बजार अनुगमनमा निस्केको टोलिले नारायणगढ क्षेत्रका विभिन्न पशु बधशालाहरुको स्थलगत अनुगमन गरेको हो। अनुगमन टोलिले विशेष गरि पशु चौपाया ( रागा, भैंसी काट्ने ) बधशालाहरुको स्थलगत अनुगमन गरेको हो । नारायणगढ स्थित लकु पुल आसपास र पुङ्गि खोला किनारमा बधशाला निर्माण गरि पशु चौपाया काट्ने बधशालाहरुको अनुगमन गरिएको नगर उप प्रमुख चित्रसेन अधिकारीले जानकारी दिनु भयो ।
मुख्य बजार क्षेत्रमा बधशालाहरु निर्माण गरि पशु चौपाया काट्ने गरेको र त्यसको प्रत्यक्ष असरबाट स्थानीयहरु पीडा भोग्न बाध्य भएको भन्ने जनगुनासो आएपछि हामी एक्सनमा उत्रिएको हौ उप प्रमुख अधिकारीले भन्नू भयो,अब हामी छिटोभन्दा छिटो सरोकारवाला सहितको बैठक बसेर यसको छिनोफानो लगाउने छौ । अनुगमनका क्रममा रगत, मल मुत्र, तथा अन्य बिकारजन्य बस्तुहरु पुङ्गि खोलामा मिसाइएको पाइएको छ । उक्त खोला बिहान हेर्दा सधै जसो रातो हुने गरेको देखिन्छ वडा अध्यक्ष बिकास थापाले भन्नू भयो । अब यसको निकास निस्कने गरि निर्णय गर्न हामी बाध्य हुने छौ । आफू निर्वाचित भएर आए देखि नै यस विषयमा जानकार रहेको बताउदै अध्यक्ष थापाले जो कोहि भएपनी कानुनी दायरामा आउनु पर्ने दावी गर्नु भयो ।
महानगरपालिकाले ५ वटा बधशालाहरुको स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा पसल दर्ता, नविकरण, सरसफाइ, मलमुत्र बिसर्जन गर्ने स्थान, पशु चौपायलाइ बध गर्ने तरिका, बध गर्ने स्थान पशु चौपाया राखेको स्थान भन्दा टाढा भए नभएको लगाएतका अन्य विषयहरु माथी निगरानी एवं अध्ययन गरिएको छ ।
एनिमल नेपालका प्रतिनिधि रामचन्द्र आचार्यले कुनै पनि बधशाला मापदण्डअनुसार नभएको बताउनु भयो । बधशाला सम्बन्धि नियमावली २०७५ अनुसार त्यहाँ भएका कुनै पनि बधशाला मापदण्डअनुसार निर्माण गरिएको पाइएन आचार्यले भन्नू भयो,पशु माथी गरिने यस्ताखालका गतिविधिहरु सरासर अन्यायपूर्ण छन ।
बधशाला सम्बन्धि नियमावली २०७५ ले पशु चौपायालाई बध गर्नु अघि पुर्ण रुपमा स्वास्थ्य चेकजाँच गरेको हुनुपर्ने, मासु काटेपछि पुन चेकजाँच गरेर मात्रै उपभोक्ता मार्फत बजारमा लैजानु पर्ने,कोल्ड स्टोरको उचित ब्यबस्थापन हुनुपर्ने, ज्वरो आएका पशुपक्षिलाई बध गर्न नपाइने लगाएतका नियमहरुको अधिनमा रहेर बधशाला सन्चालन गर्न पाइने ब्यबस्था गरेको छ ।
स्थानीय बासिन्दा रामहरी तिवारीका अनुसार सबै बधशालाहरु मापदण्ड बिपरित सन्चालन हुने गरेका छन् । यहाँ भएका सबैजसो बधशालाहरु मापदण्डअनुसार निर्माण भएका छैनन् तिवारीले भन्नू भयो, यसको प्रत्यक्ष असर हामीले भोग्नु परेको छ । विशेष गरि गर्मी याममा यस क्षेत्रमा दुर्गन्ध फैलने र हिडडुल गर्न समस्या आउने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् ।
पुङ्गि खोला वडा नम्बर ३ र ४ को सिमाना हुँदै बग्ने गरेको छ । पुङ्गि खोलालाई पछिल्लो समय भरतपुर महानगरपालिकाले सौन्दर्यिकरण गरि पर्या पर्यटनका रुपमा बिकास गर्ने लक्ष्य समेत लिएको छ ।
अनुगमन टोलिमा भरतपुर ३ का वडा सदस्य माधब अर्याल,एनिमल नेपालका प्रतिनिधिहरु, पत्रकार, प्रहरी, महानगर प्रहरी, सरोकारवाला निकायका प्रतिनिधिहरु, कृष्ण मार्ग शिबपथ टोल बिकास सस्थाका सदस्य तथा प्रतिनिधिहरु र छिमेकीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।