चितवन – छैठौं चितवन च्याम्पियनसिपको उपाधि सूर्यपुर फुटबल क्लबले जितेको छ ।
नेपाल प्रहरी शिक्षालयको मैदानमा आज सम्पन्न फाइनलमा गैंडाकोटलाई फराकिलो अन्तरले निराश बनाउदै सूर्यपुर च्याम्पियन बनेको हो । हाई स्कोरिङ उपाधि भिडन्तमा राष्ट्रिय खेलाडीको बाहुल्य रहेको सूर्यपुर ७-१ ले विजयी भयो ।
सुरुवातदेखि नै गैंडाकोटविरुद्ध दबाब बनाएको सूर्यपुरले १४ औं मिनेटमा अग्रता लियो । सूर्यपुरका लागि बिमलले सुरुवाती गोल गरेका थिए । ३० औं मिनेटमा कप्तान बिक्कीले गोल गरेपछि सूर्यपुरले अग्रता दोब्बर बनाए । उनले गैंडाकोटका गोलरक्षक विशाल सुनारको गल्तीको फाइदा उठाउदै गोल गरे । ३३ औं मिनेटमा सूर्यपुरले आत्मघाती गोल गर्यो ।
दोस्रो हाफको सुरुवाती समयमा नै सूर्यपुरले गोल गर्यो । ५० औं मिनेटमा बिमलले व्यक्तिगत दोस्रो गोल गरे । बिमलको लङ रेन्जर प्रहारमा गैंडाकोटका गोलरक्षकले कुनै अवसर नै पाएनन् । ६९ औं मिनेटमा कप्तान विक्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि सूर्यपुरले ४-१ को अग्रता लियो ।
७१ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै सूर्यपुरलाई फराकिलो जिततर्फ अग्रसर गराए। अतिरिक्त समयमा सूर्यपुरले दुई खेल गर्यो । अतिरिक्त समयमा मैदान प्रवेश गरेका नबिनले गोल गरेपछि सूर्यपुरले ६-१ को अग्रता लियो । लगत्तै बिक्कीले ह्याटि्रक गरेपछि सूर्यपुर ७-१ ले विजयी भयो । सूर्यपुरका बिमल म्यान अफ दि म्याच भए ।
विजेता सूर्यपुरले शिल्डसहित तीन लाख रूपान्तर प्राप्त गरेको छ । उपविजेताना सीमित गैंडाकोटले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
गैंडाकोटका युसुफ थपलिया प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रुपैयाँ प्राप्त गरे । सूर्यपुरका प्रदीप भण्डारी उत्कृष्ट गोलरक्षक, सूर्यपुरकै कुलदीप कार्की उत्कृष्ट डिफेन्डर, गैंडाकोटका जय लामा उत्कृष्ट मिडफिल्डर र ५ गोल गरेका सूर्यपुरकै विक्की चाम्लिङ राई सर्वाधिक गोलकर्ता बने । उनीहरुले जनही १०-१० हजार रुपैयाँ प्राप्त गरे । एभरेष्ट क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा १२ टिम सहभागी थिए ।