चितवन – सूर्यपुर फुटबल क्लब कालिका १ छैठौं चितवन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक एभरेष्ट क्लबलाई पराजित गर्दै सूर्यपुरले फाइनलमा स्थान बनाएको हो ।
प्रतिस्पर्धात्मक खेलमा सूर्यपुरले एभरेष्टको चुनौती टाइब्रेकरमा ४-२ ले तोड्यो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । जसमा सूर्यपुरले बाजी मार्यो ।
त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा कप्तान बिक्की राईको गोलमा सूर्यपुरले अग्रता लिएको थियो । तर उसको अग्रता धेरै बेर टिकेन । ७२ औं मिनेटमा समीप ढकालले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा गएको हो । टाइब्रेकरबाट नतिजा सूर्यपुरको पक्षमा गयो । सूर्यपुरका कुल्दीप कार्की म्यान अफ दि म्याच भए ।
सूर्यपुरले अब उपाधिका लागि अब गैंडाकोट एफसीको सामना गर्नेछ । गैंडाकोट यसअघि पहिलो सेमिफाइनल खेलमा रड्स रामपुरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । उपाधि भिडन्त १६ गते शनिबार हुनेछ ।
विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।