चितवन । चितवनका किसानले ३० करोड अनुदान रकम व्यवस्थापन गर्न माग गरेका छन ।
बागमती प्रदेशका १३ वटा जिल्लामा दुग्ध उत्पादक सहकारीमार्फत सीधै किसानको खातामा आउने रकम नआउने हो कि भन्ने आंशकामा किसान चिन्तित बनेका हुन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला समन्वय समिति चितवनले बागमती प्रदेश कृषि तथा पशुपंक्षी मन्त्रालयले दूधको अनदुान काटेको आंशका समेत गरेको हो । महासंघका अध्यक्ष भगिरथ तिमिल्सिना, इन्चार्ज नारायणबहादुर कुँवरद्धारा जारी विज्ञप्तिमा बागमती प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयलाई किसानलाई दिने दूधको अनुदानको लागि ३० करोडको बजेटको व्यवस्थापन गर्न माग गरिएको हो ।
आब २०७९÷८० का लागि मन्त्रालयले जम्मा ५ करोड बजेट प्रस्तावित गरेको सुन्नमा आएको भन्दै विज्ञप्ति मार्फत आपत्ति जनाइएको छ । विज्ञप्तिमा गत आवको बजेटअनुसार नै ३० करोडमा वृद्धि गर्न माग गरिएको छ । दूधको अनुदानको रकम सीधै स्थानीय तहमा पठाइ एकद्वार प्रणालीबाट किसानको हातमा पुग्ने गरी व्यवस्थापन मिलाउनसमेत विज्ञप्तिमा अनुरोध गरिएको छ । सात दिनभित्र सबै किसानको खातामा पुग्ने गरी अनुदानको रकम उपलब्ध गराउनसमेत माग गरिएको छ ।