चितवन । रोमाञ्चक खेलमा रड्स रामपुरलाई पराजित गर्दै गैंडाकोट एफसी छैठौं चितवन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आज (बुधबार) को पहिलो सेमिफाइनलमा रामपुरलाई २-१ ले पराजित गर्दै गैंडाकोट उपाधि नजिक पुगेको हो । गैंडाकोटको जितमा दुबै गोल मेसुकेले गरे । रामपुरका आशिषले एक गोल गरे ।
खेलको ३२ औं मिनेटमा मेसुकेले गोल गर्दै गैंडाकोटलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा रड्सले बराबरी गोल फर्कायो । गैंडाकोटका डिफेन्डरले रामपुरका योमीलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । प्राप्त अवसरलाई सदुपयोग गर्दै रामपुरका आशिषले गोल गरे ।
खेलको ६३ औं मिनेटमा रामपुरले फेरि पेनाल्टी पायो । गैंडाकोटका डिफेन्डरले रामपुरका शन्तबहादुर गुरुङलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । तर यसपटक आशिष चुके । उनको प्रहार पोष्टको साइड बारमा लागेर फर्कियो । खेलको अतिरिक्त समयमा मेसुकेले लङ रेन्जर गोल गरेपछि गैंडाकोट विजयी भयो । मेसुके नै म्यान अफ दि म्याच भए ।
उपाधिका लागि गैंडाकोटले अब बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आयोजक एभरेष्ट क्लब चितवन र सूर्यपुर फुटबल क्लब कालिका १ भिड्नेछन् । खेल दिउँसो ४:३० बजे हुनेछ ।
असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।