चितवन । सुरेश कुमाल नायक बनेपछि एभरेष्ट क्लब छैठौं चितवन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल प्रहरी शिक्षलयमा आज (मंगलबार) सम्पन्न अन्तिम क्वाटरफाइनलमा बिवाईसी जु एफसीविरुद्ध २-१ को रोमाञ्चक जित हात पार्दै एभरेष्टले सेमिफाइनलमा स्थान बनाएको हो । एभरेष्टको जितमा दुबै गोल सुरेशले गरे । जुगेडीका दिपेश आलेले एक गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तिनै गोल दोस्रो हाफमा भयो । खेलको ६८ औं मिनेटमा सुरेशले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाएका थिए । उनले फोफोना इब्राहिमको थ्रु बलमा जाली चुमाए ।
७९ औं मिनेटमा जुगेडीले बराबरी गोल फर्कायो । उसका लागि दिपेशले सुन्दर गोल गरे । रोमाञ्चक बनेको खेलको अतिरिक्त ७ मिनेटको अन्तिम मिनेटमा सुरेशले गोल गरे । अनमार्क रहेका सुरेशले कुनै गल्ती नगरी गोल गर्दै जुगेडीलाई स्तब्ध बनाए । सुरेश नै म्यान अफ दि म्याच भए ।
एभरेष्टले अब दोस्रो सेमिफाइनलमा सूर्यपुर एफसी कालिका १ को सामना गर्नेछ । खेल १४ गते हुनेछ । त्यस अघि बुधबार पहिलो सेमिफाइनलमा रड्स एफसी र गैंडाकोट एफसी भिड्नेछन् ।
असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । रासस