चितवन – हर्दी युवा समाज भण्डारा भरतपुरमा जारी छैठौं चितवन च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज (बिहीबार) सम्पन्न खेलमा हर्दीले नेपाल प्रहरी शिक्षालय चितवनलाई ४-१ ले पराजित गरेको हो । हर्दीको जितमा विज्ञान चौधरी र अमर डङ्गोलले समान दुई-दुई गोल गरे । पुलिसका लागि अजय गुरुङले एक गोल फर्काए ।
पहिलो हाफको नवौं मिनेटमा अमरको गोलमा हर्दीले अग्रता लिएको थियो । २२ औं मिनेटमा अजयले बराबरी गोल फर्काए । ४३ औं मिनेटमा विज्ञानले गोल गर्दै हर्दीलाई अग्रता दिलाए ।
दोस्रो हाफमा पुलिसको पोष्टमा हर्दीले थप दुई गोल गर्यो । ७१ औं मिनेटमा विज्ञानले व्यक्तिगत दोस्रो गोल गरेपछि हर्दीले ३-१ को अग्रता लियो । ८० औं मिनेटमा अमरले गोल गरेपछि हर्दीले ४-१ को सहज जित निकाल्यो । हर्दीका विज्ञान म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगितामा बिहीबार आयोजक एभरेष्ट क्लब चितवन र त्रिवेणी युवा क्लब मुग्लिन भिड्नेछन् । खेल दिउँसो ४:३० बजे हुनेछ । असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।