चितवन – छैठौं चितवन च्याम्पियनसिपमा स्टार स्पोर्ट्स क्लब बरुवा माडीले कमब्याक जित हात पारेको छ ।
आज (बुधबार) भएको खेलमा माडीले केबिए ग्लोबल भरतपुर फुटबल क्लब बिएफसीलाई ३-१ ले पराजित गरेको हो । माडीको जितमा जित मगर, सुदीप क्षेत्री र देव दुराले गोल गरे । बिएफसीका लागि सुदान्स चौधरीले एक गोल गरे ।
नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा अग्रता भने बिएफसीले लिएको थियो । खेलको १६ औं मिनेटमा सुदान्सको गोलमा बिएफसीले अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको माडी दोस्रो हाफमा खेलमा फर्कियो ।
दोस्रो हाफको चौथो मिनेटमा नै जित मगरको गोलमा माडीले खेलमा बराबरी गर्यो । उनले फ्री किकमा सुन्दर गोल गरे । दोस्रो हाफको २७ औं मिनेटमा सुदीपले गोल गर्दै बिएफसीविरुद्ध कमब्याक गराए । ३३ औं मिनेटमा देवले गोल गरेपछि माडी ३-१ ले विजयी भयो । एक गोल र एसिस्ट गरेका माडीका जित मगर म्यान अफ दि म्याच भए ।
च्याम्पियनसिप बिहीबार हर्दी युवा समाज भण्डारा र नेपाल प्रहरी शिक्षालय भिड्नेछन् । खेल दिउँसो ४:३० बजे हुनेछ । असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।